‘२५ वर्षको नेप्से अझै बाल्यावस्थामा’

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेप्से स्थापना भएको २५ वर्ष भइसके पनि नेपालको कुल जनसंख्यालाई आधार मन्दा यो अझै बाल्यावस्थामा नै रहेको बताएका छन् । पोखरामा आयोजित ‘नेपाली पूँजी बजारका समाकालिन सवालहरू’ विषयक अन्तक्र्रियामा साउदले यस्तो बताएका हुन् ।

नेप्से र पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेस पूर्व विद्यार्थी मञ्चले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनले हाल पूँजी बजार प्रविधि मैत्री हुनाले यसबाट लगानीकर्ताले पारदर्शी रुपमा कारोबार गर्न पाएको बताए ।

नेप्सेले अनलाइन प्रणाली शुरु गर्दाको दिनहरुलाई सम्झँदै उनले भने, ‘बजारबाट अनियमित तबरले अकुत धन आर्जन गर्नेहरुले अनलाइन प्रणालीलाई लागु हुन नदिन त्यसबेला यसका विरुद्ध धेरै अनर्गल प्रचारबाजी समेत गरेका थिए ।’

अर्थ मन्त्रालय बैंक तथा वित्तिय महाशाखाका उपसचिव बैकुण्ठनिधि शर्माले पूँजी बजारमा लगानी गर्दा अरुको लहलहैमा नलागेर लगानीकर्ताले अध्ययन तथा विश्लेषण गरेरमात्र अघि बढ्नुपर्नेमा जोड दिए ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले नेपालको पूँजी बजारका विविध पक्षका बारेमा बोलेका थिए ।
वरिष्ठ सूचना प्रविधि अधिकृत प्रभाकर घिमिरेले नेप्सेको वेभसाइटमार्फत गरिने अनलाइन कारोबारका बारेमा जानकारी दिए ।

कार्यक्रममा पोखरा विश्वविद्यालय केन्द्रीय आंगिक कलेज स्कुल अफ बिजनेसका निर्देशक डाक्टर रविन्द्र घिमिरेले पनि बोलेका थिए ।

पोखरा विश्वविद्यालयको केन्द्रीय आंगिक कलेज र पोखरा कलेज अफ म्यानेजमेन्टका विभिन्न विद्यार्थी क्लवको समन्वयमा भएको कार्यक्रममा अञ्जली पौडेल, गौरव पराजुली, कपिल पौडेल, निरज खड्का, बिनु श्रेष्ठ, मनोज पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रम पूर्व विद्यार्थी समाजका अध्यक्ष डाक्टर चैतन्य अधिकारीको अध्यक्षता र सदस्य सुवास मल्लको सञ्चालनमा भएको थियो ।