कपडा व्यवसायी एशोसिएशनको रक्तदान, ३१ युनिट रगत संकलन

कपडा व्यवसायी एशोसिएशन कास्कीले शनिबार रक्तदान कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा ३१ युनिट रगत संकलन भएको छ । संस्थाको यो वार्षिक नियमित कार्यक्रम हो ।

पहिलो रक्तदाता एशोसिएशनका कोषाध्यक्ष पोषराज पौडेललाई ब्लड व्याग हस्तान्तरण गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले कपडा व्यवसायी एशोसिएसनले सामाजिक क्षेत्रमा खेलेको भूमिका निकै सह्रानीय भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले संघको प्रत्येक गतिविधिमा एशोसिएसनको सहयोग र भूमिका महत्वपूर्ण रहेको भन्दै संघका लागि आवश्यक सहयोग पोउवासंघले गर्ने बताए । आफ्नो व्यवसायसंगै सामाजिक क्षेत्र थप सक्रिय हुन उनले आग्रह गरे ।

एशोसिएसनका पूर्व अध्यक्ष प्रेमबहादुर भुजेलले संस्थाको गतिविधि र सदस्यको सक्रियताले आफूलाई निकै हर्षित तुल्याएको बताए ।

पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार केन्द्रका महादेव पोखरेलले पोखरामा रगत अभाव कायमै रहेको भन्दै कपडा व्यवसायीको रक्तदानले केही हदसम्म कम गर्ने बताए ।

एशोसिएसनका अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा फेन्सी तथा रेडिमेड व्यवसायी संघका अध्यक्ष प्रदिप मुल्मी, सर्वेश्वर मार्ग व्यवसायी समितिका अध्यक्ष सन्तोष पौडेल, साँघुमुख महेन्द्रपुल व्यवसायी समितिका अध्यक्ष सूर्यराज त्रिपाठी, कार्यक्रम संयोजक एवं संस्थाका उपाध्यक्ष लेखनाथ पौडेल, महासचिव धर्ममानसिंह भण्डारी लगायतले बोलेका थिए ।