ताजा समाचार

असार ६ गते २०७६

पोखरा १३ को सार्वजनिक सुनुवाइ

पोखरा महानगरपालिका वडा नं १३ ले शुक्रवार वडाभित्र १ वर्षमा भए गरेका कामको प्रगतिबारे जानकारी गराउन र जनताको गुनासो सुन्न सार्वजनिक सुनुवाइ आयोजना ग¥यो । कार्यक्रमका सहभागीले वडाभित्र शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी लगायतका क्षेत्रमा भौतीक पूर्वाधार निर्माणमा जोड दिन आग्रह गरे । वडा नं १३ मा रहेको धार्मिक, ऐतिहासिक महत्व बोकेको पर्यटकीय क्षेत्र कमल पोखरी संरक्षण हुन नसकेको भन्दै स्थानीयवलेसंरक्षणमा ध्यान दिन वडा कार्यालयको ध्यानाकर्षण गराए ।

आर्वामा बादर आतंकका कारण कृषिजन्य उत्पादनमा प्रत्यक्ष असर पुगेकाले बाँदर नियन्त्रणका लागि पहल गरिदिन किसानले आग्रह गरे । नहरलाई प्रदूषित हुनबाट जोगाउन फोहर मैलालाई जथाभावी फाल्न रोक लगाउनुपर्ने, स्वास्थ्यसम्बन्धी जनचेतना जगाउनुपर्ने, छाडा चौपाया तथा भुस्याहा कुकुर नियन्त्रण गर्नुपर्ने लगायतका सुझाव सहभागीले दिए ।

पोखरा १३ का वडाध्यक्ष दर्शन लामाले प्राकृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, फोहर मैला व्यवस्थापन, विकास निर्माण लगायतका क्षेत्रमा सबैको सहयोगले मात्र नमुना वडा निर्माणमा सहयोग पुग्ने बताए । कार्यक्रममा वडा भित्रका उत्कृष्ट १० किसानलाई पुरस्कृत गरिएको थियो । आर्वा विजयमा रहेको स्वास्थ्यचौकीलाई १ रोपनी जग्गा निशुल्क दान गरेकोमा खम्बासिंह गुरुङ र कमला गुरुङलाई सम्मान गरियो । पुरस्कृत हुने किसानमा पूर्णकुमारी गुरुङ, ध्रुव बराल, वुद्धिबहादुर विक, फुलमाया गुरुङ, गीता पहाडी, सीता ढुंगाना सिग्देल, भोजराज बराल, षडानन्द बराल र वद्रि देवकोटा छन् । उनीहरुलाई जनही नगद १० हजार प्रदान गरिएको छ ।

कार्यक्रममा वडा सदस्य कृष्णकुमारी गुरुङले वडाभित्र १ वर्षमा कृषिको क्षेत्रमा विनियोजन गरिएको गरिएको २६ लाख ५० हजारको कार्यप्रगति विवरण प्रस्तुत गरिन् । मौरीपालन, टनेल वितरण, भकारो सुधार, सूर्यमुखी फूल खेती, बाँझो जग्गमा जापानीज कटुस, विउ विजन वितरण, अभिमुखीकरण तालिम जस्ता कार्य वडा कार्यालयले गरेको बताइन्

वडाभित्र गठित कृषि सञ्जाल अध्यक्ष टेकनाथ बरालले स्वागत गरेको कार्यक्रममा सामुदायीक विद्यालयको तर्फवाट घनश्याम रिजाल, संघीय समाजवादी पार्टीका नौबहादुर गुरुङ र। डा सचिव अञ्जु गुरुङले बोलेका थिए ।