नेपालमा फाइबरमार्फत छुट्टै छवि बनाएको वल्र्डलिंक कम्युनिकेसन प्रालिले स्याङ्जाको सदरमुकाममा नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । स्याङ्जा बजार आसपासका सेवाग्राहीको मागलाई मध्यनजर गर्दै गुणस्तरीय सेवा दिने उद्देश्यसहित पुतली बजार नगरपालिका १ मा सम्पर्क कार्यालय खोलिएको हो ।
पुतलीबजार नगरपालिकाका मेयर सीमा क्षेत्रीले शुक्रबार सम्पर्क कार्यालय सुरुआत गरिन् । मेयर क्षेत्रीले तीव्र गतिको इन्टरनेटका लागि कार्यालय खोलिनु सकारात्मक भएको बताइन् । उनले इन्टरनेको माध्यमबाट विदेश रहेका आफन्तसँग कुरा गर्न मिल्ने र सबै जसो काम गर्न मिल्ने सेवा दिन आग्रह गरिन् ।
‘सम्पर्क कार्यालय स्थापना गर्नु आफैंमा राम्रो काम हो,’ उनले भने, ‘अझ त्योभन्दा राम्रो काम सेवाग्राहीलाई उचित सेवाm सुविधा दिनु हो र निरन्तर फलो गर्नु हो ।’ प्रालिले नगरपालिका भित्रका मुख्य स्थानमा निशुल्क वाइफाइ प्रदान गर्ने निर्णय गरेकोमा स्वागत गर्दै उनले आगामी दिनमा स्याङ्जाका मुख्य गन्तव्य भालुपहाड र ट्रान्जिट पोइन्ट नौडाँडामा समेत फ्रि वाइफाइ सुविधा प्रदान गर्न अनुरोध गरिन् ।
प्रालिका पोखरा शाखा प्रमुख युसफ श्रेष्ठले स्थलगत अवलोकन र आम नागरिकको चाह अनुसार सेवा विस्तार गर्न सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको बताए । उनले गण्डकी प्रदेशमै वल्र्डलिंकको अप्टिकल फाइबरसहितको नेट विस्तार गर्ने लक्ष्यसहित काम गरिरहेको उल्लेख गरे । प्रालिले बिभिन्न प्याकेजमा सेवा प्रदान गर्दै आएको छ ।
उनले पुतलीबजार नगरपालिकासँग ३ वर्षका लागि ५ मुख्य स्थानमा फ्रि वाइफाइका लागि सम्झौता भएको उल्लेख गरे । ‘१ व्यक्तिले दिनमा डेढ घण्टा नेट चलाउन पाउनेछ’, उनले भने, ‘विशेषगरी अस्पताल तथा नागरिकको बढी आवागमन हुने स्थान, सरकारी कार्यालयका क्षेत्र तथा पर्यटकीय स्थान लक्षित गरी फ्रि वाइफाइ प्रदान गर्दै आएका छौं ।’
उनले तत्कालका लागि सहिद चोक, बाडखोला चोक, जिल्ला अस्पताल क्षेत्र, प्रगति नगर र जिल्ला ट्राफिक कार्यालय चोकमा गरी ५ स्थानमा फ्रि वाइफाइ सेवा रहेको जानकारी दिए । नयाँ जडान गर्दा १ वर्षका लागि नेटटिभीसहितको ओपनिङ प्याकेजलाई १२ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ । नेटटिभीमा ८० भन्दा बढी एचडी च्यानल छन् ।
पोखरा शाखा अन्तर्गत २० हजारभन्दा बढी ग्राहक रहको वल्र्डलिंक पोखरा शाखाले यस अघि कास्कीको भण्डारढिक, पोखराको बगर, अमरसिंहचोक, राष्ट्रबैंक चोक, स्याङ्जाको वालिङ, तनहुँको दमौली, पर्वतको कुस्मा लगायतका स्थानमा सम्पर्क कार्यालय खोलिसकेको छ ।




