ताजा समाचार

असार ६ गते २०७६

आमा समुहको सक्रियताले भलाममा बहुउदेशयीय भवन खडा

पोखरा महानगरपालि वडा न-२० भलाममा आमा समुहको सक्रियतामा बहुउदेशयीय भवन निर्माण भएको छ ।

भलामस्थित हरिहर भक्ति आमा समूहको सक्रियतामा ४० लाखको लागतमा आयमुलक सीप विकास गर्नको लागि उक्त भवन निर्माण गरिएको हो ।

भवन निर्माणले सीपमुलक तालिम सञ्चालन, गाउँमा हुने विभिन्न कार्यक्रम र सभा गर्न सहज हुने र समूदायको हितमा सदुपयोग हुने आमा समूहका अध्यक्ष सरस्वती गौतमले बताईन् ।

नवनिर्मित भवनको उद्धघाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य कुमार खड्काले आर्थिक उपार्जनमा सहयोग मिल्ने हरेक आवश्यक पूर्वाधार निर्माणमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनए । उनले गाउँ गाउँमा सामूदायिक भवनहरु निर्माण भएपनि सहि सदूपयोग नभएको अवस्थामा समुहले निर्माण गरेको भवन प्रभावकारी रुपमा सदुपयोग गर्न सुझाव दिए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य बिन्दु कुमार थापाले भलाममा बाटो,खानेपनि,सिचाइ,शीतभण्डार जस्ता पुर्वाधारको अत्यन्तै आवश्यक रहेकोले यस्तै खालका सकृय स्थानीयका साथ र सहयोग मिले विकासले गति लिने आश्वासन दिए । उनले चुनावको समयमा मात्रै राजनिती नभई विकासको निर्माणमा पनि सक्रिय रुपमा लागे मात्र विकासले फड्को मार्ने बताए ।

२०६४ सालमा निर्माण थालिएको भवन २०७३ मा निर्माण सम्पन्न भएको थियो। हरिहर भक्ति आमासमूहले नेपाल सरकार, ब्रिटिस वेल्फेएर,वडा कार्यालय,हरिहर सन्यास आश्रम,श्रृङखला युवा क्लब तथा स्थानियबाट चन्दा संकलन गरि भवन निर्माण गरेका हुन् ।

अध्यक्ष गौतमको अध्यक्षतामा भएको कार्यक्रममा समूहकी सचिव मिना खत्रीले समुहको प्रतिबेदन प्रस्तुत गरेकी थिईन । सो अवसरमा चन्दादातालाई सम्मान समेत गरिएको थियो ।