ताजा समाचार

असार ५ गते २०७६

दिदीकै योजनामा बहिनी बलात्कृत !

मोरङकी १९ वर्षीया युवती पारिवारिक नाताभित्रकै दिदीको ‘योजना’ मा बलात्कृत भएको रहस्य खुलेको छ । पथरीशनिश्चरे नगरपालिका–५ की २२ वर्षीया अञ्जना थापाले पारिवारिक नाताभित्रकै बहिनीलाई मोरङको केराबारी गाउँपालिकास्थित गुराँस होटलमा पुर्‍याएर अपरिचित व्यक्तिलाई बलात्कार गर्ने वातावरण मिलाएको आरोपसहित प्रहरीमा उजुरी परेको छ ।

घटनाको अनुसन्धानबाट अञ्जनाले आफ्ना प्रेमी सुन्दरहरैंचा नगरपालिका–१२ का ३९ वर्षीय सञ्जिवकुमार शंकरको आग्रहमा यो घटना गराएको देखिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिएका छन् । अञ्जनाले प्रेमी सञ्जिवसँग मिलेर गोरखाको पृथ्वीनगर–७ का ३२ वर्षीय विश्वास कट्टेललाई नाताभित्रकी बहिनी बलात्कारको वातावरण मिलाई दिएको राईले बताएका छन् ।

अञ्जना र विश्वासबीचमा भने चिनजान नरहेको प्रहरीको भनाइ छ । प्रहरीकाअनुसार सञ्जिवकुमार र विश्वास साथी हुन् । सञ्जिवको भने विराटचोकमा मेडिकल हल छ । उनीसँगकै सम्पर्कका आधारमा गोरखाबाट आएका विश्वास विराटचोकमा जग्गा कारोवारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले तीनै जनालाई पक्राउ गरेर असार १ गते जबरजस्ती करणी ऐनअन्तर्गतको मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर घटनाको अनुसन्धान शुरु गरिएको जनाएको छ ।

‘दुवै जनाले सल्लाह गरेर सञ्जिवकी प्रेमिका अञ्जनामार्फत् गत जेठ ३१ गते एक जना युवती झिकाएको देखिन्छ,’ घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले भने, ‘त्यसक्रममा अञ्जनाले पारिवारिक नाताभित्रकी बहिनी पर्ने युवतीलाई साथमा लिएर विराटचोक आएको खुलेको छ ।’

त्यसपछि चारै जना मिलेर हलमा फिल्म पनि हेरेको खुलेको छ । फिल्म हेरिसकेपछि केराबारी गाउँपालिका पुर्‍याएर त्यहाँको गुराँस होटलमा जेठ ३२ गते बिहानसम्म बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार होटलको १०५ नम्बर कोठामा घटना भएको हो ।

पीडितलाई उद्धृत गर्दै राईले भने, ‘तर दिदीले ममाथि यति ठूलो अपराध सोचेर यसो गर्नु भएको रहेछ ।’ सबै परिपञ्च मिलाउने घटनाको मुख्य योजनाकारका रुपमा दिदी नै देखिएको उनले बताएका छन् । केराबारीस्थित होटलमा पुर्‍याएपछि पीडित युवतीलाई जुस भन्दै झुक्याएर वाइन खुवाएको पनि खुलेको उनको भनाइ छ ।