धौलागिरि अञ्चल अस्पतालको सुविधा सम्पन्न ‘बी’ ब्लक भवन निर्माण शुरु भएको १० वर्षमा पूरा भएको छ ।
विसं २०६६ वैशाख १ गते दुई वर्षमा सम्पन्न गर्ने सम्झौता गरी आशिष, मिलेनियम, भीमज्योति, जयबाबा गोरख र नयाँबाटो निर्माण सेवाले जिम्मा लिएको ‘बी’ ब्लक हाल मात्रै निर्माण गरेका हुन्।
तत्कालीन बागलुङ जिल्ला अस्पताललाई रुपान्तरण गरी अञ्चल अस्पतालका लागि चाहिने भवन निर्माण थालिएको १० वर्षपछि बल्ल पूरा भएको उक्त अस्पतालले जनाएको छ।
अस्तपालतको ‘बी’ ब्लकको भवन रु छ करोड, ६० लाख ३९ हजार २१४ लागतमा निर्माण गर्ने सम्झौता भएको थियो। निर्माण कम्पनीले रु छ करोड, ५१ लाख १६ हजार २८८ रकम लिएर पटक–पटक ताकेता गर्दासमेत सम्पर्कविहीन बनेको थियो।
ठेक्का रद्द गर्ने अन्तिमपत्र निर्माण व्यवसायीलाई पठाएपछि हाल आएर निर्माण गरेकोे आयोजना कार्यन्वयन एकाइका लेखा अधिकृत महेश सिग्देलले बताए। तीन तले सुविधा सम्पन्न उक्त भवनमा करीब ४० कोठा छन्।
निर्माण व्यवसायीले समयमै भवन निर्माण गर्न नसकेकाले २०७५ असार मसान्तसम्म म्याद थप गरिएको कास्कीस्थित आयोजना कार्यान्वयन एकाइका प्रमुख नारायण भण्डारीले बताए। प्रमुख भण्डारीका अनुसार अस्पतालको निर्माण ‘ए’ ब्लक विसं २०६९ मा नै निर्माण भएको छ भने ‘सी’ ब्लकको सम्झौताअनुसार काम नगरेका कारण ठेक्का प्रक्रिया तोड्ने प्रक्रिया अगाडि बढाइएको छ।




