तेत्तीस किलो सुन अवैध निकासी तथा सनम शाक्य हत्या प्रकरणमा आदेश गर्ने उच्च अदालत विराटनगरका तीन न्यायाधीशलाई न्याय परिषद्ले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पेसी र सुनुवाइ व्यवस्थापनमा प्रचलित मान्यता तोडेको आरोपमा करिब पाँच महिनादेखि काजमा रहेका उनीहरूमाथि कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको हो । सोही प्रकरणमा जोडिएका तत्कालीन मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेलसहित तीन न्यायाधीशलाई भने ध्यानाकर्षपछि काममा फर्कने बाटो खोलिएको छ । माघ ४ गतेको निर्णयबाट न्यायाधीशहरूलाई काजमा झिकाइएको थियो ।
परिषद्को निर्णयअनुसार न्यायाधीशहरू थीरबहादुर कार्की, साधुराम सापकोटा र उमेश सिंहलाई स्पष्टीकरण सोध्ने निर्णय भएको हो । परिषद्ले गरेको विस्तृत छानबिनमा न्याय सम्पादनमा उनीहरूको कैफियत फेला परेको भन्दै स्पष्टीकरणको निर्णय लिइएको हो । सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसे संयोजक रहेको समितिले छानबिनपछि प्रतिवेदन प्रधानन्यायाधीश एवं परिषद् अध्यक्ष चोलेन्द्रशमशेर जबरालाई बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा निर्णय गरिएको हो । प्रारम्भिक छानबिन सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा नेतृत्वको टिमले गरेको थियो ।
न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले अनुसन्धानमा क्रममा रहेका नौ जनामध्ये तीन जना न्यायाधीशको हकमा स्पष्टीकरण सोध्ने निर्णय भएको बताउनुभयो । स्पष्टीकरणका लागि सात दिनको समय दिइएको छ । “कारबाही प्रक्रियाका लागि तीन जनाको हकमा स्पष्टीकरण सोध्ने निर्णय भएको छ । तीन जनालाई ध्यानाकर्षण गराउने निर्णय भएको छ । ध्यानाकर्षण गराइएकाको हकमा काममा फर्कन मिल्ने अवस्था हुन्छ”, कार्कीले भन्नुभयो । परिषद्ले मुख्य न्यायाधीश भुर्तेलसहित साराङ्गा सुवेदी र जनक पाण्डेलाई ध्यानाकर्षण मात्र गराउने निर्णय गरेको हो ।






