पोखरा १७ का उत्पीडितलाई कानुन र बोल्ने कला तालिम

पोखरा वडा नं. १७ का उत्पीडित समुदायलाई लक्षित गरी वडाले उद्घोषण कला तथा कानुनी साक्षरता तालिम दिएको छ । दलित उत्थान व्यवस्थापन समितिको समन्वयमा भएको तालिममा ५० जना सहभागी थिए ।

आइतबार सुरु भएको तालिम बुधबार सकिएको छ । समापन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले पुरानो संस्कार, संस्कृतिसँगै झांगिएको विभेद हट्दै गएको बताए । उनले कानुनमा त्यसलाई दण्डनीय बनाएर, भाषण गरेरमात्र परिवर्तन नहुनेमा जोड दिए ।

थापाले भने, ‘दलित समुदायबाट उम्मेदवार बनाउँदा मेरै पार्टीका मान्छेले नबनाउन अनुरोध गरेको अनुभव छ । खानेले खाएको खायै गर्ने, हेर्नेले हेरेको हे¥यै गर्ने प्रवृत्ति बदल्न सबै लागौं ।’ नेकपा कास्की अध्यक्षसमेत रहेका थापाले वर्गीय समाजमा मुद्दा वर्गीय रुपमै उठ्ने भएकाले दलितसँगै अरु समुदायको पनि सशक्तीकरणमा उल्लेख्य भूमिका रहने उनले बताए ।

पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले बोल्न जान्ने नहेपिने र कानुन जान्ने अन्यायमा नपर्ने भएकाले तालिमलाई व्यवहारमा प्रयोग गर्न आग्रह गरे । पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले सबै वर्ग, क्षेत्र, लिंगलाई मूल प्रवाहमा ल्याउन स्थानीय सरकारले सोही अनुसारका कार्यक्रम गरिरहेको बताए । कार्यपालिका सदस्य राधिका शाही योगीले उत्पीडित समुदायलाई आफ्ना हक, अधिकार बुझाउँदै आवाज उठाउन र अधिकार माग्न सक्ने बनाउन सशक्तीकरण जरुरी रहेको विचार राखिन् ।

वडा सदस्य बैकुण्ठ भण्डारीले व्यवहारिक र व्यावसायीक भएमात्र सिकाईको अर्थ हुने उल्लेख गरे । अर्का वडा सदस्य तारा सेवा परियारले पछि परेको समुदायलाई अघि बढाउन दलित समुदायकै अग्रसरतासहित अरु समुदायको पनि साथ चाहिने बताइन् ।

नेकपा पोखरा १७ अध्यक्ष सुवास ढुंगानाले विकास, सशक्तीकरण र नागरिकमा स्थानीय सरकारको दह्रो उपस्थितिले विरोधीहरु आत्तिएको दाबी गरे । उनले बाँकी अवधिका स्थानीय सरकारले जनताका आकांक्षा पूरा गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वडा सदस्य शान्तादेवी गुरुङ, प्रशिक्षक शुशील नेपाली, कृष्णबहादुर नेपाली, कार्यक्रम संयोजक कोपिला दियाली, प्रशिक्षार्थीहरु लोकमाया दर्जी, देवबहादुर विक, आशा परियार, सम्झना नेपाली लगायतले बोलेका थिए ।