क्रिकेट संघमा राजनीति : पारस खड्का र ज्ञानेन्द्र मल्ललाई नै सदस्यता दिन अस्वीकार !

ललितपुर जिल्ला क्रिकेट संघले मापदण्ड पुगेका १२ जनालाई सदस्यता दिन अस्वीकार गरेको छ । ललितपुर जिल्लाबाट सदस्यता लिन सिनियर अम्पायर विनयकुमार झासहित १२ जनाले निवेदन दिए पनि जिल्लाले सदस्यता दिन अस्वीकार गरेको हो ।

‘हामीले विधानअनुसार सदस्यताका लागि निवेदन दिएका थियौं,’ अम्पायर झाले भने, ‘हाम्रो निवेदन लिन जिल्ला क्रिकेट संघ ललितपुरले मानेन ।’ सदस्यताका लागि झासहित अम्पायरहरू सुशीलकुमार यादव, रामकैलाश यादव, उज्जवल रेग्मी, मन्जुल भट्टराई, हेमराज भट्ट, रमन शिवाकोटी, अनुज कुमार झा (स्कोरर) ले निवेदन दिएका थिए ।

स्रोतका अनुसार नेपाल क्रिकेट टिमका कप्तान तथा सिप्यानका महासचिव पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले पन निवदेन दिएका छन् तर सदस्यता पाएका छैनन् । यस विषयमा कप्तान खड्काले संघको जिल्ला निर्वाचन स्वतन्त्र बन्न नसकेको दुःखेसो गरे । ‘विवाद आएपछि त्यसको समाधान गर्ने जिम्मा स्वतन्त्र समितिको हो । स्वतन्त्र समितिले ललितपुरलाई निर्देशन दिन सक्थ्यो । तर त्यसो भएन,’ पारसले भने ।

७ अम्पायर, १ स्कोरर, काठमाडौं क्रिकेट टेनिङ सेन्टर, मनिषराज पाण्डे, पारस र ज्ञानेन्द्रले ललितपुरमा सदस्यताका लागि दिएको निवेदन अस्वीकृत भएपछि स्वतन्त्र समितिलाई जानकारी गराइएको थियो । स्वतन्त्र समितिले उजुरी दिन आग्रह गरेको थियो । सबैको तर्फबाट रमन शिवाकोटीले उजुरी दर्ता गराएका थिए ।

खेलाडीको हिसाबले सदस्यता नपाउने भनेपछि आफूले एसिसी लेबल १ को प्रमाणपत्रको पेस गरेको पारसले बताए । ‘ज्ञानेन्द्र र मैले २०१३ मा एसिसीको कोर्ष गरेका थियौं । त्यो प्रमाणपत्र पेस गर्दा पनि हामीलाई सदस्यता दिइएन,’ पारसले भने, ‘हामीलाई क्यानमा आउनु परेको छैन । विधानअनुसार साधारण सदस्य बन्न पनि रोकियो ।’

बीसौं वर्ष क्रिकेटमा लागेको व्यक्तिले आफू क्रिकेट लागेको व्यक्तिले आफूलाई प्रमाणित गर्दै हिँड्नु पर्ने अवस्था आएको पारसले भने ।

मापदण्ड पुगेकालाई सदस्यता नदिएको ललितपुरले गत आइतबार विशेष साधारणसभामार्फत नयाँ कार्यसमिति चुनेको थियो । १५ सदस्य कार्यसमितिमा नरेश राणा पुनः अध्यक्ष चयन भएका थिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को स्वतन्त्र समितिको निर्देशन अनुरूपमा ललितपुरले विशेष साधारणसभा गरेको हो ।

स्वतन्त्र समितिले ललितपुरसहित ६ जिल्लालाई नयाँ सदस्यता बाँडेर चुनाव गर्न निर्देशन दिएको थियो । तर ललितपुर नयाँ सदस्यता बाँड्न अनुदार देखिएको थियो ।

‘हामीले दुःख गरेर बनाएको संस्था हो । आफ्नो जिल्लाका व्यक्तिलाई मात्र सदस्यता दिन्छौं,’ अध्यक्ष राणाले भने, ‘क्रिकेटको विकासका लागि लाग्न चाहनुहुन्छ भने आफ्नो जिल्लाबाट सदस्य बने हुन्छ नि । ललितपुर बाहिरको मान्छेले ललितपुरमा सदस्यता किन लिन पर्यो ।’

उनले ललितपुर क्रिकेट संघमा अनावश्यक राजनीति गर्न खोजिएको समेत आरोप लगाए । ‘राजनीति गर्न खोजिएकाले हामीले सदस्यता नदिएका हौं । हाम्रो कमिटीमा जो पायो त्यो छिराउँदैनौं’, उनले भने

नेपाल क्रिकेट संघ (क्यान) नयाँ विधानअनुसार एसिसी, आइसिसी र संघद्वारा मान्यता प्राप्त अन्य कुनै पनि संस्थाबाट कम्तिमा १ श्रेणीको क्रिकेट खेलको प्रमाणपत्र प्राप्त गरेका रेफ्री वा निर्णायक वा स्कोरर वा प्रशिक्षकले सदस्यता लिन सक्ने व्यवस्था छ ।

विधानमा सम्बन्धित जिल्लाबाट सदस्यता लिनु पर्ने विषयमा केही पनि भनिएको छैन । यही विधानलाई टेक्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक जगत टमाटा स्याङ्जा जिल्ला क्रिकेट संघबाट प्रतिनिधि चुनिएका छन् ।