ताजा समाचार

असार ४ गते २०७६

शुक्रबार आर्ट अफ लिभिङ पोखराको खुला योग शिविर

आर्ट अफ लिभिङ पोखराले शुक्रबार खुला योग शिविर सञ्चालन गर्ने भएको छ । जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइने हुँदा सोही दिन पारेर पोखरामा पनि योग शिविरको आयोजना गर्न लागिएको आर्ट अफ लिभिङ पोखरा संयोजक विश्वमोहन अधिकारीले बताए ।

संयोजक अधिकारीका अनुसार शिविर बिहान ६ बजेदेखि ७ बजेसम्म केदारेश्वर मन्दिर परिसर बैदाममा हुनेछ । यो योग शिविरलाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । आर्ट अफ लिभिङको कोर्ष अनुसार योग शिक्षकले नै सहभागीलाई योग सिकाउनेछन् । योग शिविरमा सहभागी हुन शुल्क लाग्दैन ।

शुक्रबार हुने योग शिविरमा बढीभन्दा बढी सहभागी जुटाउन आर्ट अफ लिभिङ पोखराले आइतबारबाट पोखरा क्षेत्रका विभिन्न स्कुल, कलेज, धार्मिक संघ संस्थामा योग शिविरको प्रचारप्रसार गर्दै शिविरमा सहभागी हुन आग्रह गरेको छ ।

हालसम्म विश्वभर १ सय ५५ देशमा आर्ट अफ लिभिङका सेन्टर स्थापित छन् । यसका गुरु रविशंकर हुन । पोखरामा मात्र करिब १८ हजार जनाले आर्ट अफ लिभिङको कोर्ष लिइसकेका छन् । हालैमात्र आर्ट अफ लिभिङ पोखराले अध्यात्म, उद्यमशिलता र गतिशिलता विषयक ४ दिने युवा परियोजना सञ्चालन गरिसकेको संयोजक विश्वमोहन अधिकारीले जानकारी दिए ।