ताजा समाचार

असार ४ गते २०७६

कर्मचारी आन्दोलित भएपछि भक्तपुर अस्पतालका सबै सेवा ठप्प

वीर अस्पतालपछि दोस्रो जेठो सरकारी अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालमा कर्मचारी आन्दोलनका कारण आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प भएको छ।

अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.सुधा देवकोटाले अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीहरुको सबै सेवा, सुविधा कटौती गरेपछि ३५ कर्मचारी विगत एकसातादेखि आन्दोलनमा उत्रिएका हुन्।

अस्पतालको सबै सेवा ठप्प पार्दै हातमा कालो पट्टी बाँधेर ३५ कर्मचारीहरु अस्पतालको प्राङ्गणमा धर्ना दिएर बसेका छन्। सधैं भीड लाग्ने अस्पताल आन्दोलनका कारण बिरामी नआएपछि सुनसान भएको छ।

आन्दोलनमा उत्रिएका कर्मचारीले आफ्नो माग सम्बोधन नगरेको भन्दै हिजोदेखि आकस्मिक सेवाबाहेक सबै सेवा ठप्प पारेपछि आजदेखि अस्पताल बिरामी नआउँदा सुनसान भएको हो।

यता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। देवकोटाले भने आफूले सबै माग पूरा गरेको बताएकी छन्। उनले अस्पतालको सेवा ठप्प नपार्न आन्दोलनरत कर्मचारीलाई आग्रह गरेको उल्लेख गर्दै काउन्टरको साँचो समेत नदिँदा टिकट काट्न समेत नपाएको बताइन्।