अस्पतालहरुमा किन अहिले किन रगतको अभाव ?

गर्मी बढेसँगै क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमा आकस्मिक बाहेकका बिरामीका लागि आवश्यक पर्ने रगत अभाव भएको छ।

गर्मी बढेसँगै रगतको आवश्यकता हुने बिरामीको चाप बढ्ने तर रक्तदान कार्यक्रम नहुने गर्दा रगतको अभाव देखिएको हो ।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलले जिल्लामा दैनिक १५० युनिट रगतको आवश्यक पर्ने जानकारी दिए । तर अहिले केन्द्रमा ७० देखि ७५ युनिट मात्रै रगत रहेको छ ।

अस्पतालमा आएका बिरामीका आफन्त र स्वयम्सेवी रक्तदाताको भरमा केन्द्र सञ्चालन गर्नु परेको उनको भनाई छ । उनका अनुसार जिल्लामा दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल, भरतपुर अस्पताल र २० भन्दा बढी निजी अस्पतालहरु रहेकोले ति अस्पतालमा दैनिक शल्यक्रियाका लागि रगतको माग हुँदै आएको छ।

चितवनमा मात्रै नभएर अहिले देशभर नै रगतको अभाव देखिएको छ । केन्द्रले चितवन, धादिङ, नवलपुर, नवलपरासी, बारा, पर्सा, तनहुँ, लम्जुङ्, गोर्खालगायतका १२ वटा जिल्लाबाट रगत सङ्कलन गर्दै आएको छ । तर यी सबै जिल्लामा गर्मीका कारण रक्तदाताकोे अभाव भएपछि रगतको समस्या देखिएको हो ।