स्थानीय तहमा कर्मचारी भर्नासम्बन्धी लोकसेवा आयोगको विज्ञापनमा देखिएको विवादबारे आज सर्वोच्च अदालतले सुनुवाइ गर्दैछ ।
आयोगले निकालेको विज्ञापनमा असन्तुष्टि जनाउँदै परेका चार निवेदनलाई एकै ठाउँमा राखेर सर्वोच्चले आज सुनुवाइ गर्न लागेको हो ।
न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आयोगको सो विज्ञापनसम्बन्धी परेका चार वटै निवेदनलाई सँगै राखेर हेर्न हिजो आदेश जारी गरेको थियो ।
आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै ९ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो । आयोगले गरेको विज्ञापन समावेशी सिद्धान्त विपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट परेका हुन् । अहिले आयोगको निर्णय तत्काल सच्चिनु पर्ने माग गर्दै विरोध भइरहेको छ ।






