पोखराका महिला पर्यटन व्यवसायी चीनतिर

संघीय सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० र गण्डकी प्रदेश सरकारले घोषणा गरेको छिमेकी भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्न लेकसाइडका महिला पर्यटन व्यवसायी चीन भ्रमणमा निस्केका छन् । मंगलबार महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को नेतृत्वमा पर्यटन व्यवसायी चीन भ्रमणका लागि प्रस्थान गरेका हुन् ।

भ्रमण टोलीलाई पोखराका विभिन्न पर्यटन संवद्ध संघ, संस्थाले बिदाइ गरे । पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले भ्रमण वर्ष सफल पार्न भ्रमण फलदायी हुने अपेक्षा राखे । व्यवसायीले भ्रमण गर्दा तुलना गर्ने अवसर मिल्ने र परिमार्जन गर्न सघाउ पुग्ने उनले बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष चीरञ्जीवी पोखरेलले भ्रमणले पर्यटन क्षेत्रको परिवेश बुझ्न सहज हुने धारणा राखे । चीनका थोरैमात्र पर्यटक नेपाल आउँदा पनि नेपालको पर्यटन बजार चलायमान हुने हुँदा यस्ता प्रवद्धनात्मक कार्यक्रम आवश्यक रहेको उनले बताए ।

नेपाल भ्रमण वर्ष २०२० का गण्डकी प्रदेश संयोजक अग्नि कँडेलले भ्रमण पोखरा र यस क्षेत्रको बारेमा चिनाउन महत्वपूर्ण हुने बताए । ओटेफका सल्लाहकार देवका पहारीले भ्रमण टोलीले पोखरा र नेपालकै पर्यटन पर्वद्धन गर्ने मात्र होइन, आतिथ्य संस्कारको नयाँपनको अनभुव पनि लिन पाउने धारणा राखिन् ।

ओटेफ अध्यक्ष जमुना पराजुलीले भ्रमण टोलीले बेइजिङ, सांघाइ र गोञ्जाओका विभिन्न पर्यटकीय क्षेत्र अवलोकन गर्नुका साथै पर्यटनसँग सम्बन्धित विभिन्न संघ, सस्थासँग अन्तक्र्रिया गर्ने जानकारी दिइन् । भ्रमण टोलीमा १८ जना महिला पर्यटन व्यवसायी छन् । टोली १० पछि नेपाल फर्कनेछ ।