व्यापार मेलामै फर्कियो पोखरा उद्योग वाणिज्य संघ

पोखराका उद्योगी, व्यवसायीहरूको छाता संस्था पोखरा उद्योग वाणिज्य संघ पुनः राष्ट्रिय औद्योगिक व्यापार मेलामा फर्किएको छ ।

लामो समयसम्म राष्ट्रिय औद्योगिक व्यापार मेलाको नाममा महोत्सव आयोजना गरेर सफलता पाएको संघले गत मंसिरमा एक्स्पो पोखरा साथमा तेस्रो मोबाइल मेला आयोजना गरेको थियो ।

एक्स्पो पोखरा साथमा मोबाइल मेलामा दर्शक घटेपछि संघ पुनः व्यापार मेलामा नै फर्किएको हो । मेलाको नाम परिवर्तन गरिएपछि दर्शक कम भएको सर्वत्र अनुमान गरिएको थियो । दर्शक कम आएपछि एक्स्पोमा स्टल राख्ने उद्योगी व्यवसायी निकै निराश भएका थिए ।

मोवाइल मेला मात्र ठानेर मेलाका कतिपय पुराना दर्शक एक्स्पोमा आएका थिएनन् । संघका अध्यक्ष दामु अधिकारीले उद्योगी व्यवसायीका साथै समग्र क्षेत्रको सुझाव अनुसार आफूहरू पुनः राष्ट्रिय औद्योगिक व्यापार मेलामै फर्किएको बताए ।

उनले व्यापार मेला र एक्स्पोमा दर्शकहरू झुक्किएका कारण यसवर्षदेखि परिस्कृत व्यापार मेलाको तयारीमा संघ लागेको जानकारी दिए ।

राष्ट्रिय औद्योगिक व्यापार मेला २०७६ आगामी पुस १८ देखि २८ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने महासचिव अर्जुन पोखरेलले जानकारी दिए ।

महोत्सवलाई आगामी दिनमा अझ परिस्कृत गरेर सञ्चालन गरिने वाणिज्य उपाध्यक्ष पवन प्रजापतिले बताए ।
पोखरामा पहिलो महोत्सव आयोजना गर्ने पोउवासंघ हो । संघले महोत्सवको आम्दानी विभिन्न सामाजिक कार्यमा खर्च गर्दै आएको ।

एक्स्पोबाट ३ लाख ८७ हजार मात्र बचत
संघले गत मंसिरमा आयोजना गरेको ‘सफल एक्स्पो पोखरा साथमा तेस्रो मोबाइल मेला’ को आयव्यय विवरण सार्वजनिक भएको छ । मंगलबार पत्रकार सम्मेलन गरी संघले आयव्यय विवरण सार्वजनिक गरेको हो ।

एक्स्पोबाट कुल ९२ लाख ४३ हजार ६ सय ७० रुपैयाँ आम्दानी भएको पत्रकार सम्मेलनमा अध्यक्ष दामु अधिकारीले जानकारी दिए । प्रायोजन, टिकट बिक्री तथा स्टल भाडाबाट उक्त रकम आम्दानी भएको हो ।

विभिन्न शीर्षकमा गरी ८८ लाख ५६ हजार ४ सय ६७ रुपैयाँ खर्च भएको बताइएको छ । एक्स्पोबाट ३ लाख ८७ हजार २ सय २ रुपैयाँ बचत भएको उनले जानकारी दिए । यो वचत गत वर्षहरूको भन्दा न्यून हो ।

संघका अध्यक्ष अधिकारीले गतवर्ष संघको चुनावका कारणले पनि महोत्सवको तयारीलाई असर पारेको भन्दै यसवर्ष सोचेभन्दा राम्रो र सफलता हात पार्ने दावी गरे ।

उनले भने, ‘संघले महोत्सव मात्रै आयोजना गरेको छैन, आम्दानी भन्दा पनि उद्योग र व्यापार प्रवर्द्धनमा विशेष ध्यान दिइएको छ । संघको दायरा निकै फराकिलो भएको छ । यसमा हामी निकै खुशी छौं ।’