ताजा समाचार

असार ३ गते २०७६

गाउँपालिकाका उपाध्यक्ष चढेको जीप नदीमा खस्यो,थप विवरण आउन बाँकी

हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष चढेको जीप मंगलबार कर्णाली नदीमा खसेको छ ।

हुुम्लाको खार्पुुनाथ गाउँपालिका वडा नम्बर–५, कैलाबालु भन्ने ठाउँबाट लु१ज ७१६६ नम्बरको जिप कर्णाली नदीमा खसेको हो ।

हुम्लाकै सिमकोटबाट खार्पुनाथतर्फ जाँदै गरेको जिप नदीमा खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी मोहन आचार्यले पुष्टि गरे । सो जिपमा खार्पुुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धुु शाही र उनका आफन्तहरु सवार रहेको र कति जना सवार थिए भन्ने अहिलेसम्म खुल्न नसकेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए ।

उनका अनुसार उद्दारका लागि स्थानीय प्रहरी घटनास्थल पुगेको भए पनि आवश्यक प्रविधि नहुँदा नदीमा पसेर खोजी गर्न कठिनाई भएको छ ।

नदीमा हराइरहेकाहरुको तालिम प्राप्त गोताखोरको सहयोगले मात्रै खोजी गर्न सकिने भएकाले आफूहरुले केन्द्रमा यसबारे जानकारी दिएको उनले बताए । उनले उद्दारका लागि भन्दै जिल्लाबाट आएको टोली नदीमा छिर्न नसकेपछि फोटो खिचेर तालिमप्राप्त उद्दारकर्तासहित आउने भन्दै फर्केको बताए ।