ताजा समाचार

असार ३ गते २०७६

प्रदेश सरकारद्धारा गण्डकी विश्वविद्यालयको लागी बजेट विनियोजन

गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालय स्थापनाका लागि बजेट विनियोजन गरेको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा स्थापना हुने प्रदेश स्तरिय विश्व विद्यालयका लागी आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विश्वविद्यालय स्थापनाका लागि १० करोड ४० लाख बजेट विनियोजन गरेका हुन् ।

उच्च शिक्षामा दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादन गर्न सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा विश्वविद्यालय स्थापनाका लागि उक्त रकम विनियोजन गरिएको मन्त्री गुरुङले जानकारी दिए ।

विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारले बेलचौतारामा ४७५ रोपनी सार्वजनिक जग्गा पहिचान गरेको छ । भानुभक्त क्याम्पससँगै जोडिएको जग्गामा स्थापना हुने विश्वविद्यालयका लागि सङ्घ सरकारसँग जग्गा माग गरिएको छ । उक्त जग्गा प्रदेशलाई उपलब्ध गराउन गत पुस १३ गते मन्त्रिपरिषद्को बैठकले माग गरिसकेको छ ।

विश्वविद्यालयमा प्राकृतिक विज्ञान, प्राविधिक तथा व्यावहारिक व्यवस्थापन, समाजशास्त्र मानवशास्त्र, प्रविधि, आविष्कार र शिक्षामा स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडी गराउने योजना छ । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले प्रदेशस्तरीय विश्वविद्यालय शुक्लागण्डकीमा स्थापना हुनु खुसीको कुरा भएको भन्दै आवश्यक सहयोगका लागि नगरपालिका तयार रहेको बताए ।