ताजा समाचार

असार ३ गते २०७६

प्रधानमन्त्रीले बोल्न नपाएको विषयमा देउवा भन्छन् : विपक्षीले पहिला बोल्ने हो, नेता नेपाल भन्छन् : कांग्रेसले गलत गर्यो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले संसदमा सधैं विपक्षीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । 

मङ्गलबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संघीय संसद भवनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले संसदमा बोल्न पहिलो प्राथमिकता प्रमुख प्रतिपक्षी दललाई दिनुपर्ने बताएका हुन् ।
उनले प्रधानमन्त्रीले बोल्ने नभई जवाफ दिने हो भन्दै अन्तराष्ट्रिय अभ्यास पनि त्यस्तै भएको दाबी गरे ।

‘प्रधानमन्त्रीले बोल्ने होइन । जवाफ दिने हो । पहिले बोलिसकेपछि के बोल्ने मैले ? बोल्ने भए हिजो पनि बोल्थे नि, प्रधानमन्त्रीलाई सुनाउनु थियो आज । जहाँपनि विपक्षीले पहिले बोल्ने हो । जवाफ प्रधानमन्त्रीले दिने हो । सुरुमा कहाँ बोल्छन् ?’ देउवाको प्रश्न थियो ।

प्रधानमन्त्री भन्दा पहिला बोल्न पाउनुपर्ने माग गर्दै काँग्रेसले संसद अवरुद्ध पार्दा मंगलबारको बैठक स्थगित भएको थियो । 

यता, सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीलाई सम्बोधन अवरोध गरेर प्रतिपक्षी दलले गलत काम गरेको टिप्पणी गरेका छन् ।

सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीलाई सम्बोधन अवरोध गरेर प्रतिपक्षी दलले गलत काम गरेको टिप्पणी गरेका छन् ।

संघीय संसद भवनमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले प्रमुख प्रतिपक्षी दलले गलत संसदीय नजिर बसाल्न खोजेको बताएका हुन् । 

प्रधानमन्त्रीले बोल्ने भनिसकेपछि संसदीय परम्परा अनुसार उनको कुरा सुन्नुपर्नेमा अवरोध श्रृजना गर्नु नाजायज भएको टिप्पणी उनले गरे । 

उनले भने, ‘प्रमुख प्रतिपक्षी दलको माग नाजायज थियो । प्रधानमनत्री बोल्ने भनिसकेपछि संसदीय परम्परा र संसदीय परिपाटी अनुसार प्रधानमन्त्रीले भनेको कुरा सुन्नुपर्छ । त्यसपछि प्रतिपक्षीले बोल्ने कुराको सन्दर्भमा बोल्न पाउनुपर्छ । सभामुखको रुलिङ नमानेर गलत संसदीय नजिर बसाल्न खोजेको देखिन्छ ।’