पोखरा १७ का ब्लक नं १ (छोरेपाटन) र ब्लक नं. २ (महतगौडा) मा समुदाय प्रहरी साझेदारी समिति गठन भएका छन् । आइतबार भएका टोलबासी, स्थानीय, जनप्रतिनिधि र प्रहरीको भेलाबाट समिति गठन भएका छन् ।
ब्लक नं. १ को संयोजकमा वडा सदस्य राधिका शाही योगी र ब्लक २ संयोजकमा वडा सदस्य बैकुण्ठ भण्डारी छन् । ब्लक नं. १ मा १७ सदस्यीय र ब्लक नं. २ मा २५ सदस्यीय समिति गठन भएका छन् । दुवै समितिको सदस्य सचिवमा प्रहरी चौकी छोरेपाटनका प्रहरी नायब निरीक्षक दुर्गाबहादुर कुँवर छन् ।
पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारी नागरिक विना बर्दीको प्रहरी भएको बताउँदै अपराध नियन्त्रण र शान्ति, सुरक्षा कायम गर्न नागरिकको विशेष भूमिका हुने बताए । उनले नागरिक र सुरक्षाकर्मीको एकीकृत प्रयासबाट समाजका विकृति नियन्त्रण गर्दै चुस्त, दुरुस्त शान्ति, सुव्यवस्था पार्न सहयोग पुग्ने बताए ।
वडा प्रहरी कार्यालय बैदाम डिएसपी कमल शाहले शान्ति, सुव्यवस्था कायम गर्न नागरिकसँग सहकार्य गर्न तयार रहेको बताए । उनले संकास्पद क्रियाकलाप देखेमा र अपराधिक गतिविधिको शंका लागेमा प्रहरीलाई खबर गर्न आग्रह गरे ।
पोखरा महानगर कार्यपालिका सदस्यसमेत रहेकी ब्लक नं. १ संयोजक योगीले समाजमा हुने हिंसा, अपराध र विभिन्न प्रकारका घटना नियन्त्रण गर्न टोल स्तरमै पहल हुनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘कहिलेकाँही अपराधी उम्किन सक्छ, निर्दाेष पनि फस्न सक्छ । निष्पक्ष न्याय दिलाउन सचेत नागरिकको भूमिका उल्लेख्य हुन्छ ।’
ब्लक २ का संयोजक भण्डारीले समाजका शान्ति, सुरक्षा कायम गर्न र विकृति नियन्त्रण गर्न समितिले योगदान गर्ने बताए । उनले समुदायकै लागि काम गर्ने भएकाले समितिलाई सबैले सघाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेकपा नेता सुवास ढुंगाना, छोरेपाटन टोल सुधार समिति अध्यक्ष चूडामणि बराल, छोरेपाटन मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष झपिन्द्रराज रेग्मी, लीला जिसी लगायतले बोलेका थिए । कार्यक्रममा स्थानीयले टोलमा भएका समस्या र नागरिक प्रहरी सहकार्यमा ध्यान दिनुपर्ने पक्षबारे सुझावसमेत दिएका थिए ।






