शिक्षक लाइसेन्सको विज्ञापन खुला

शिक्षक सेवा आयोगले शिक्षक लाईसेन्सको विज्ञापन खोलेको छ। माध्यमिक तहको तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरिएको आयोगका प्रशाशकीय प्रमुख डा तुलसी थपलियाले जानकारी दिए ।

लामो समयदेखि रोकिएको लाइसेन्स यस पटक बिषयगत आधारमा खुलाइएको छ । यो पटकदेखि अनलाइनबाटै फारम भर्न सकिने व्यवस्था छ । प्रावि र निमाविमा तालिम प्राप्त हुनु पर्ने तर माविको हकमा तालिम नलिएकाले पनि लाईसेन्सको परीक्षामा सहभागिता जनाउन सक्ने प्रावधान छ । शिक्षक अभाव हटाउन मावि तहका निश्चित विषयमा शिक्षक हुन चाहने विद्यार्थीलाई तालिम नभए पनि हुने व्यवस्था गरिएको छ ।

साविकका उच्च मावि तहका शिक्षकका लागि पनि लाईसेन्सको परीक्षा हुने व्यवस्था गरिएको छ। सोमबारदेखि लाईसेन्सका लागि असार २२ गते सम्म फारम भर्न सकिनेछ। दोब्बर दस्तुर तिरी असार २९ गते सम्म फाराम भर्न सकिने आयोगले जनाएको छ।