ताजा समाचार

असार २ गते २०७६

पोखरामा पनि गुठी विधेयक ऐनको विरोध, थप आन्दोलनको चेतावनी

सरकारले हालै ल्याएको गुठी विधेयक ऐनको विरोधमा राजधानी काठमाडौं लगायत देशभर आन्दोलन भइरहेको छ । यसैक्रममा पोखराका गुठियारले पनि आन्दोलन शुरु गरेका छन् । पोखराका विभिन्न संस्था र जातिहरूले गुठी विधेयक ऐनको विरोध गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् ।

पोखराको चिप्लेढुंगाबाट शुरु भएको विरोध र्याली न्यूरोड, सभागृह, सृजनचोक, रत्नचोक हँुदै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

विरोध र्यालीमा नेवाः खल कास्की, श्रीपति कोइराला गुठी, विभिन्न धार्मिक एवं सामाजिक, महिला तथा आमा समूहलगायत दर्जन बढी गुठी संस्थाका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता सहभागी थिए ।

र्यालीपश्चात् प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको थियो । पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले प्रजिअ बुढालाई ज्ञापन पत्र बुझाएका थिए । गुठी सम्बन्धी विधेयक ल्याएर सरकारले परम्परागत संस्कृतिलाई मेटाउने काम गरेको भन्दै पालिखेले गुठी विधेयक खारेज गर्न माग गरे ।

पालिखेले सरकार गौरवपूर्ण नेपाली संस्कृति मास्ने काममा उद्धत रहेकाले त्यसको विरोध गरेको बताए । नेपालको मूल धर्म संस्कृतिलाई नै समाप्त गर्ने मनसायले गुठी विधेयक ल्याइएको भन्दै उनले धर्म, संस्कृतिको रक्षार्थ सबै लाग्नुपर्ने खाँचो औंल्याए ।

श्रीपति कोइराला गुठीका नवराज कोइरालाले सरकारले सारा जनताको भावना कुल्चिएर विधेयक ल्याएको भन्दै यसको विरुद्ध सशक्त सडक अन्दोलन गर्न पछि नपर्ने चेतावनी दिए ।

नेपालदूतसंग कुरा गर्दै उनले नेपाली धर्म र संस्कृति मास्ने खालको विधेयक ल्याएर सरकारले नेपालको परापूर्व कालदेखिको धर्म र संस्कृति नामेट पार्ने प्रयास गरेको आरोप लगाए ।

गुठी संस्कृतिलाई सामन्तवादको अवशेष भन्ने सञ्चारमन्त्री र आवश्यक सुधार गर्छौं मात्रै भनि केही पनि काम नगर्ने प्रधानमन्त्रीकोबीच कुराकानी नै बाझिँदा यसले सरकारप्रति झनै आशंका थपेको र्यालीमा सहभागी विद्यार्थी नेता भानु ढकालको बुझाई छ ।

वार्ता र संवाद मार्फत् समस्याको समाधान गर्न माग गर्दै गुठियारको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको बताए । उनले सरकार अहिले अन्धो भएको भन्दै त्यसै कारणले विभिन्न बाहनामा आफ्नो धर्म संस्कृति र पहिचान मास्ने काममा उद्धत भएको बताए ।

यसैबीच विश्वहिन्दू महासंघको आह्वानमा सोमबार देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत् सरकारलाई ज्ञापन पत्र बुझाइएको हो । यसैगरी असार ३ गते पशुपतिनाथमा विरोध सभा, ४ गते देशभरका मठमन्दिरमा विहान साँढे ७ बजे १० मिनेट घन्टा बजाउने, ५ गते साँझ वसन्तपुरमा विरोधसभा गर्ने, ६ गते अन्तरक्रिया, ७ गते गुठी ऐनको विरोधमा विरोध सभा गर्ने, ८ गते देशभरका मठमन्दिरमा ध्यान पूजा पाठ गर्ने, ९ गते रत्नपार्कमा कोणसभा गर्ने महासंघले घोषणा गरेको छ ।