पर्वत सदरमुकाम कुश्मा बजारमा विगत एक हप्तादेखि खानेपानीको चरम अभाव भएको छ ।
केही दिन वर्षा रोकिएसँगै ह्वात्तै बढेको गर्मीका कारण पानीका स्रोत सुख्दै गएपछि पानीको अभाव हुनु र पानीका मुहान रहेका ठाउँमा रोपाइँ शुरु हुँदा बजारमा पानीको अभाव भएको हो ।
लुगा धुने नुहाउने त परैको कुरा पिउने पानीको अभाव भएपछि बजारवासी पानीको खोजीमा भौतारिन थालेका छन् । बजारवासी बिहान सबैरै छिमेकीका घर–घरमा पानीको खोजीमा धाउन बाध्य भएका छन् भने बजार नजिकै रहेका इनार, खोल्सा र खोलामा जान बाध्य भएका छन् ।
दिनको एकपटकसम्म पनि धारामा पानी नआउँदा सदरमुकामबाट झण्डै आधा घण्टा टाढा रहेको दोबिल्लाबाट सवारीमा पानी ओसार्नुपरेको होटल व्यवसायीको गुनासो छ । पानीको अभावकै कारण भाँडा सफा गर्न नपाउँदा होटल नै बन्द गर्नुपर्ने स्थिति आएको होटल सञ्चालक सुशीला कुँवरले गुनासो गरे ।
कुश्मा बजारमा एक दिनमा झन्डै २५ लाख लिटर पानीको खपत हुने गरेकामा अहिले बढीमा १५ लाख लिटर मात्र आपूर्ति भइरहेको छ । आपूर्ति भएकोमध्ये पनि झन्डै ३० प्रतिशत पानी पाइप फुट्नुलगायतका कारण बीचमै लिक हुने गरेको कार्यालयले जनाएको छ ।




