एघार महिनामा पाँच हजार भन्दा बढी सवारीसाधन कारवाहीमा

म्याग्दीमा चालू आर्थिक वर्ष २०७५/७६ को ११ महीनाको अवधिमा पाँच हजारभन्दा बढी सवारीसाधन कारवाहीमा परेका छन् ।

गत साउनदेखि जेठ महीनासम्म ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार ३५६ सवारीसाधनका धनी तथा चालकलाई कारवाही गरिएको प्रहरी सहायक निरीक्षक मित्रलाल ढकालले जानकारी दिएका हुन्।

उनका अनुसार नियमविपरीत सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने र आवश्यक कागजातविना सवारी चलाउने ट्रकरटिपर, बस, जिप, कार, भ्यान, ट्र्याक्टर, मोटरसाइकल, स्कुटरका चालक र सवारीधनीलाई कारवाही गरिएको हो ।

ट्रक टिपर ८९७, बस ९२८, जिप कार भ्यान एक हजार ९९०, ट्र्याक्टर ५४५, मोटरसाइकल स्कुटर ९१७ लाई कारवाही भएको छ । ९४ सवारी चालकलाई मादक पदार्थ सेवन गरेर सवारी चलाएकोमा कारवाही गरिएको छ ।

यस वर्ष म्याग्दीमा सात दुर्घटनामा दुईको मृत्यु, पाँच सिकिस्त घाइते, १३ समान्य घाइते र दुई बेपत्ता भएका छन् । साथै सवारी कार्वाहीबाट रु ३६ लाख ७० हजार राजश्व सङ्कलन भएको छ ।