उत्ताउलो मौसम, यस्तो छ आजको सम्भावना

यसपटकको मौसम बढी नै उत्ताउलो बन्दै गएको छ । गर्मीको पारो अधिकभन्दा अधिक बढिरहेको छ । वर्षाको सम्भावना पनि उत्तिकै छ । अनि छिनछिनमा आउने हावाहुरीले झस्काइरहेको छ ।

पोखरामा आइतबार करिब ३ बजेदेखि साँझसम्म हावाहुरी, असिना, मेघगर्जनसहित भीषण वर्षा भएको थियो । दिउसो २ बजेसम्म टन्टलापुर घाम लागेर प्रचण्ड गर्मी भएको पोखरामा त्यसपश्चात मौषम अकस्मात परिवर्तन भइ भीषण वर्षा भएको थियो । 

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

पूर्वी तथा मध्य भु–भागका केही स्थानहरुमा र पश्चिमी भु–भागका एक दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ। योक्रम मंगलबार र बुधबार पनि रहने जनाइएको छ । 

यस्तो छ पारो –
भैरहवामा ४१.७, दिपायलमा ४१.४, नेपालगंजमा ४०.७, धनगढीमा ४०.१, जनकपुरमा ३८.२, सिमरामा ३८ डिग्री रहेको छ । 

काठमाडौंमा आइतबार ३२.५ डिग्री रहँदा न्यूनतम तापक्रम १९.४ डिग्री रहेको थियो । न्यूनतम पारोसमेत बढेकाले पनि मौसमले निकै कठिन बनाइरहेको छ । 

तराई भेगमा धेरैजसो विद्यालयहरु बन्द गरिएका छन् ।