आगामी वर्ष गण्डकी प्रदेशका ६ जिल्लामा कोल्ड स्टोर र १० ठाउँमा वधशाला बन्ने भएका छन् । प्रदेश सरकारले मौसमी तथा बेमौसमी कृषि उपजको संरक्षण र सुरक्षित भण्डारणका लागि मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, नवलपुर र तनहुँमा कोल्ड स्टोर निर्माण गर्न ९ करोड बजेट छुट्याएको छ ।
आइतबर पेश भएको बजेटमा स्थानीय तहसँगको सहकार्यमा स्वच्छ मासु उत्पादन तथा वितरणको प्रबन्ध गर्न १० स्थानमा आधुनिक बधशाला निर्माण गर्ने उल्लेख छ । पोखरामा आधुनिक बधशाला निर्माण गर्न पोखरा महानगपालिकासँग साझेदारी गर्ने प्रदेशको योजना छ ।
गरिबी निवारण र रोजगारी सृजनाका लागि स्थानीय तहमा मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ स्थापना गर्ने कार्यक्रमका लागि १६ करोड ८९ लाख बजेट छ । प्रदेश दुग्ध विकास बोर्ड पनि यसै वर्ष स्थापना हुनेछ ।
भूउपयोग नीति तर्जुमा गरी कृषियोग्य भूमि विस्तारका लागि चक्लाबन्दी खेती तथा करार खेतीलाई प्रोत्साहन गर्ने व्यवस्था मिलाउने सरकारको योजना छ । एकीकृत भूउपयोग नीति अनुरूप बस्ती विकास गर्न पनि रकम छुट्याइएको छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले मनाङ, मुस्ताङ, उत्तरी गोर्खा लगायतका क्षेत्रमा उन्नत जातका स्याउको बिरूवा वितरण गर्न ४ करोड ५० लाख विनियोजन भएको बताए ।




