७ सरकारी स्कुलमा आवासीय सुविधा

सरकारी विद्यालयलाई गुणस्तरीय बनाउन गण्डकी सरकारले आवासीय सुविधा सुरु गर्ने भएको छ । यो सुविधाका लागि आवास बनाउन सरकारले ४ करोड विनियोजन गरेको छ ।

स्थानीय तहसँगको सहकार्यमा चालु वर्षमा तयार भएको विस्तृत परियोजना प्रतिवेदनका आधारमा प्रदेशका दुर्गम तथा हिमाली क्षेत्रका ७ वटा सामुदायिक विद्यालयमा यो सुविधा सुरु गर्ने तयारी छ ।
सरकारले आगामी २ वर्षभित्र प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्न ५ करोड विनियोजन गरेको छ ।

तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा गण्डकी विश्वविद्यालयको स्थापना र सञ्चालन गर्न १० करोड ४० लाख बजेट छ । प्रदेशभित्र दक्ष प्राविधिक‚ व्यवसायिक र उद्यमशील जनशक्ति उत्पादन गर्न स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिकामा गण्डकी प्राविधिक प्रतिष्ठान स्थापना गरी यसै वर्षदेखि सञ्चालनमा ल्याउन ४ करोड ५० लाख विनियोजन भएको छ ।