गण्डकी प्रदेशको राजधानी पोखरामा प्रदेश सरकारले अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको स्वास्थ्य प्रयोगशाला स्थापना गर्ने भएको छ । आइतबार प्रदेशसभा बजेट पेश गर्दै आर्थिक मामिला तथा योजना मन्त्रीले यसका लागि बजेट व्यवस्था गरेको जनाएका हुन् ।
उनले खोप कोषलाई निरन्तरता दिन थप ५० लाख व्यवस्था गरेको जनाए । क्यान्सर, मुटु र मृगौला रोगको उपचारको लागि प्रदेशभित्र अत्याधुनिक र सुविधा सम्पन्न विशिष्टिकृत अस्पताल स्थापना गर्ने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको छ ।
मृगौला पीडित बिरामीका लागि विभिन्न जिल्लामा डायलासिस सेवा उपलव्ध गराउने उद्देश्यले पर्वत, म्याग्दी, स्याङजा, गोरखा र लमजुङमा डायलासिस सेवा सञ्चालनका लागि सरकारले रकम विनियोजन गरेको छ । गण्डकी क्षेत्रीय अस्पतालमा बहिरंग सेवा सञ्चालन गर्न थप नयाँ भवन निर्माणका लागि २ करोड प्रदेशले दिने भएको छ ।
राजमार्गमा बढ्दै गएको सडक दुर्घटनाबाट हुने घाइतेको तत्कालै प्राथमिक उपचार गर्न दमौली अस्पताल, वालिङ प्राथमिक स्वास्थ्य केन्द्र र डिमुवा स्वास्थ्य चौकीलाई हाइवे मोवाइल अस्पतालका रूपमा सञ्चालन गर्ने प्रदेश सरकारले जनाएको छ ।




