गण्डकी सरकारले प्रदेश खेलकुद एकेडेमीको स्थापना गर्न १ करोड र मुस्ताङ जिल्लाको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा हाइ अल्टिच्युट टेनिङ सेन्टरको विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्यको थालनी गर्न १ करोड ५० लाख छुट्याएको छ ।
आइतबार बजेट पेश गर्दै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशालाको विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण गर्न १ करोड विनियोजन गरेको उल्लेख गरे । उनले स्थानीय तहसँगको समन्वयमा गाउँपालिकामा एक स्थानीय तह एक खेल मैदान र नगरपालिकामा रंगशाला निर्माणका लागि ४ करोड ४० लाख विनियोजन गरेका छन् ।
यस्तै, पोखरा रंगशालाभित्र रहेको क्रिकेट मैदानको सुधार र संरक्षण गर्न २ करोड विनियोजन भएको छ । पोखरा महानगरपालिका वडा नं. ३३ मा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान तथा दीप लामाचौरमा गल्फकोर्स निर्माण गर्न पनि रकम व्यवस्था भएको छ ।
गण्डकी सरकारले युवाको उद्यमशीलता अभिवृद्धि गर्न र प्रदेशको आर्थिक समृद्धि हासिल गर्न युवालक्षित चुनौती कोषमा ५ करोड विनियोजन गरेको छ ।




