गण्डकीमा इन्टरनेट पहुँच पु¥याउन १ करोड

गण्डकी सरकारले घरघरमा स्तरीय सञ्चार सञ्जाल पु¥याउन १ करोड बिनियोजना गरेको छ । निजी र स्थानीय तहसँग सहकार्य गरी सार्वजनिक निजी साझेदारीमा अप्टिकल फाइबरको माध्यमबाट ब्रोडब्यान्ड नेटवर्क विस्तार गरी इन्टरनेटको प्रयोगलाई सरल, सहज, सर्वसुलभ र पहुँचयोग्य बनाउन १ करोड विनियोजन गरिएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पोखरा १८ स्थित जामुनबोटमा प्रदेश सूचना प्रविधि पार्क स्थापनाका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गर्न पनि बजेट विनियोजन भएको बताए । आगामी वर्ष प्रदेश सरकारले प्रदेशभित्र सञ्चालनमा रहेका सञ्चार माध्यमलाई दर्ता, अभिलेख, अनुमति, नवीकरण र नियमन गर्ने भएको हो ।

मन्त्री गुरुङले आइतबार प्रदेशसभामा ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजारको बजेट पेश गरेका छन् ।