पोखरा १७ मा ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच

पोखरा महानगरको आयोजनामा पोखरा १७ मा शनिबार ज्येष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य शिविर भएको छ । शिविरमा २ सय ४८ जनाको स्वास्थ्य जाँच भएको छ । तीमध्ये २ सय १० जनाको आँखा जाँच गरिएको थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले ज्येष्ठ नागरिक भक्ति थापालाई बिरामी पुर्जा र पुष्प गुच्छा दिई शिविर सुरुआत गरेका थिए । उनले धूमपान, मद्यपान जस्ता कुलत त्यागी स्वास्थ्यको विषयमा सजग बन्न आग्रह गरे ।

पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले भौतिक पूर्वाधार विकास भइनसकेका र निम्न वर्गका वृद्धृवृद्धा यस्तो शिविरबाट निकै लाभान्वित हुने बताए । वडा सदस्य राधिका शाही योगीले ज्येष्ठ नागरिक समाजका अभिभावक भएकाले उनीहरुको स्वास्थ्यमा योगदान गरी जीवनलाई सरल बनाउन स्थानीय सरकार लागिपरेको बताइन् ।

कार्यक्रममा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेल, सहरी स्वास्थ्य केन्द्र प्रमुख निर्मला अर्याल लगायतले पनि बोलेका थिए । पोखरा महानगरको स्वास्थ्य महाशाखाले सबै वडामा शिविर गर्ने कार्यक्रम अन्तर्गत पोखरा १७ को सहरी स्वास्थ्य केन्द्रमा शिविर भएको हो ।