नेपाल आयुर्वेदिक औषधि व्यवसायी संघ कास्कीको प्रथम साधारणसभा तथा अधिवेशनले पवन अधिकारीलाई अध्यक्षमा चयन गरेको छ । अधिकारी कृपा आयुर्वेद फार्मेसीका सञ्चालक हुन् ।
यसैगरी संस्थाको उपाध्यक्षमा पञ्चम आयुर्वेद फर्माका विष्णा शर्मा चापागाईं, सचिवमा आयुर्वेद फर्माका स्वीकृती राजु पौडेल, सहसचिवमा जनस्मृति आयुर्वेद फर्माका पुष्पराज पौडेल र कोषाध्यक्षमा वैदिक आयुर्वेद फर्माका विष्णुप्रसाद बस्याललाई चयन गरेको नेपाल आयुर्वेदिक औषधि व्यवसायी संघ गण्डकी प्रदेश संयोजक कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
चापागाइँका अनुसार कार्यसमिति सदस्यमा पञ्चांग आयुर्वेदका राजेन्द्र अधिकारी, निपूर्ण आयुर्वेदका निर्वाचनकुमार श्रेष्ठ, निरा आयुर्वेदकी निरा राना र रश्मी आयुर्वेदका रमेश चापागाई छन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले आयुर्वेदिक उपचारबारे जनतालाई बुझाउनका लागि अभियान चलाउन सुझाव दिइन् ।
उनले आयुर्वेदिक उपचारबाट पनि उपचार सम्भव छ र यो सबैभन्दा उत्तम उपचार हो भनेर जनतालाई बुझाउनका लागि अभियान सञ्चालन गर्न आयुर्वेदिक औषधि व्यवसायीलाई आग्रह गरिन् ।
नेपाल आयुर्वेदिक औषधि व्यवसायी संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामचन्द्र बुढाथोकीले स्वदेशको कच्चा पदार्थ कौडीको मूल्यमा भारत निर्यात भइरहेको भन्दै यहाँको कच्चा पदार्थ यहिं प्रयोग गरेर औषधि उत्पादन गर्न सके आयात प्रतिस्थापन हुने भन्दै यसले समृद्धिमा पनि सघाउने बताए ।
पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले राज्यले लगानीको वातावरण मात्र बनाइदिए व्यवसायीहरु लगानी गर्न तयार भएको बताए ।
गण्डकी आयुर्वेद अस्पताल पोखराका प्रमुख डा.ओम कोलोनीले औषधिमा गुणस्तर कायम गर्नुपर्ने भन्दै त्यसका लागि नियमन जरुरी रहेको औंल्याए । उनले नेपालमा वार्षिक रुपमा ७ अर्बको आयुर्वेदिक औषधि खपत हुँदा स्वेदशी उत्पादन डेढ अर्बको मात्रै हुनु दुःखद् भएकाले उत्पादनमा ध्यान दिनुपर्ने बताए ।
नेपाल आयुर्वेद उत्पादक संघका केन्द्रीय कोषाध्यक्ष महेन्द्रराज उपाध्यायले माग अनुसार नेपालमै उत्पादन गर्न सकिने भन्दै विदेशी भन्दा स्वदेशी औषधि बेचिदिन व्यवसायीलाई आग्रह गरे ।
संस्थाका अध्यक्ष कृष्ण तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राजु पौडेलले गरेका थिए ।




