केही समय अगाडी सुकेधारामा नेपाल बन्दको अघिल्लो दिन बम सेटिङ मिलाउने क्रममा भएको बिस्फोटमा परि घाईते भएका विप्लव नेतृत्वको नेकपाका एक जना कार्यकर्ताको मृत्यु भएको छ । आज शनिबार राजधानीको चावहिलस्थित ओम अस्पतालमा उपचाररत रहेका घाईतेको मृत्यु भएको हो । मृत्यु हुनेमा रामेछाप मन्थली नगरपालिका–४ का रामकुमार श्रेष्ठ रहेका छन् ।
उनी गत जेठ १२ गते सुकेधारास्थित छोटे ठाकुरको सैलुनमा भएको बम बिस्फोटमा परि गम्भीर घाइते भएका थिए।श्रेष्ठ सहित उक्त बम बिस्फोटमा परि मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि बिस्फोटमा मृत्यु भएकाहरुमा जनमुक्ति सेनाका कमाण्डरहरू महान, दीपेन्द्र, अखिल क्रान्तिकारीका नेता प्रज्वल शाही र निरन्तर रहेका छन् । बिस्फोटमा परि गम्भीर घाइते भएका सुरेन्द्र महर्जन र हरि खड्काको ओम अस्पतालको आइसीयुमा उपचार भइरहेको छ ।






