नेकपा सांसदले नै मागे सञ्चारमन्त्रीको राजीनामा

यतिबेला राजधानी गुठी विधेयकको कारण तातिरहेको छ । सरकारले नेपालको पराम्परामाथि धावा बोलेको र भूमाफिया पोस्न विधेयक ल्याएको भन्दै राजधानीमा दिनहुँ जस्तो बिरोध प्रर्दशनहरु भईरहेका छन् । त्यसमाथि केही समय अगाडी सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गुठीलाई सामन्तवादसंग जोडेपछि झनै सरकारको बिरोध भयो ।

नेपालको पराम्परालाई सामन्तवादसंग जोडेको भन्दै उनको खुबै आलोचना पनि भयो । यसबीच सञ्चारमन्त्रीको त्यही अभिव्यक्तिलाई सत्तारुढ दलकै नेताले उनको राजीनामा माग गरेका छन् । सञ्चारमन्त्रीले भनेका थिए “हामी सामन्तवादलाई मान्ने कि नमान्नेरु सामन्तवादलाई अन्त्य गर्ने कुरा गुठी, कमलहरीसँग जोडिन्छ। जसले सामन्तवादको चरित्र प्रस्तुत गर्थे। त्यसलाई हामीले भत्काएर गणतन्त्रमा गइसकेका छौँ” ।

उनको यही अभिव्यक्तिलाई लिएर नेकपाका सांसद रामवीर मानन्धरले उनको राजीनामा माग गरेका हुन् । आज शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गुठीप्रथालाई ‘सामन्तवाद’ भनेको भन्दै सञ्चारमन्त्रीको राजीनामा मागेका हुन् । उनले भने “सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजिनामा दिनुस् । प्रवक्ता जनताको हो । धेरै ठूलो स्वरले बोल्ने होइन । ” यतिबेला राजधानी गुठी विधेयकले तातिरहेको बेला सञ्चारमन्त्रीले आगोमा घिउ थप्ने काम गरेको भन्दै उनले की माफी माग्न की राजीनामा दिनु पर्ने बताए ।

उनले गुुठियारहरुलाई अपमान गर्ने मन्त्रीहरुको दिनगन्ती सुरु भएको टिप्पणी गरे । उनले भने “आज गुुठियारहरुलाई जसरी आक्षेप लगाउने र अपमान गर्ने गरिएको छ, यसले अब मन्त्रीहरुको दिनगन्ती सुरु भएको छ ।” उनले मन्त्रीहरुको प्रवृतिले गणतन्त्र नै धरापमा परेको भन्दै प्रधानमन्त्रीले पनि विधेयक फिर्ता नलिए काठमाण्डौमा आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनी दिए । उनले भने “म यहीँबाट भन्न चाहन्छु, यदी प्रधानमन्त्रीले पनि फिर्ता लिन चाहनुभएन भने हेर्दैगर्नुहोला काठमाडौँमा के हुन्छ । यो मेरो चुनौति होइन, सरकारलाई सुझाब हो ।” उनले बाउबाजेले संरक्षण गरेको सम्पत्ति सरकारले मास्न खोजेको समेत आरोप लगाए ।