पोखरा १७ का महिलाले सिके प्रस्तावना र प्रतिवेदन लेख्ने कला

पोखरा वडा नं. १७ का महिलाले आफूहरु प्रस्ताव लेखेर योजना माग्न र प्रतिवेदन लेखेर बुझाउन सक्षम भएको बताएका छन् । पोखरा महागरपालिकाले टोल विकास संस्था र महिला समूहका सदस्यका लागि आयोजना गरेको ३ दिने तालिमका सहभागीले यस्तो बताएका हुन् ।

सहभागी सीता काफ्ले भण्डारीले कुनै काम गर्न योजना माग्न र प्रतिवदेन लेख्न सधै अरुमा भर पर्नुपर्ने वाध्यता अब हटेको बताइन् । अर्की सहभागी सुवित्रा शर्मा ढकालले वडा कार्यालयले निकै उपयोग तालिम आयोजना गरेकोमा धन्यवाद दिइन् ।

शनिबार आयोजित तालिम समापन कार्यक्रममा पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले तालिमबाट आर्जेको सीप व्यवहारमा लागु गरेमात्र त्यसको अर्थ हुने बताए । उनले पोखरा १७ निकै ठूलो भएकाले वडालाई ६ क्षेत्रमा बाँडेर वडाले काम गरिरहेको उल्लेख गरे । पोखरा १७ का सदस्य तथा महानगर कार्यपालिका सदस्य राधिका शाही योगीले अब वडा र महानगरबाट योजना माग्न तालिमका सहभागी सक्षम भएको विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘वडावासीलाई सक्षम र जिम्मेवार, रोजगार बनाउने खालका कार्यक्रम सञ्चालन गर्न हामी लागेका छौं ।’

पोखरा १७ का वडा सचिव सुभास पौडेलले महिला, पिछडिएको वर्ग, क्षेत्रलाई सक्षम बनाउने खालका कार्यक्रमलाई वडाले प्राथमिकता दिएको बताए । सेरा जागृति आमा समूहले व्यवस्थापन गरको प्रस्तावना लेखन तालिममा पत्रकार फडिन्द्र अकिञ्चनले प्रशिक्षण दिएका थिए । कार्यक्रममा पोखरा महानगरका इन्जिनियर नेत्र तिमिल्सिनाले पोखरा महानगरका योजनाबारे प्रकाश पारे ।

सेरा जागृतिका अध्यक्ष विष्णुमाया पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव गंगाकुमारी शर्मा, सहसचिव रीता सुवेदी, प्रशिक्षार्थीहरु अनिता पनेरु, सावित्री शर्मा अर्याल, कल्पना शर्मा सिग्देल, कृष्णकुमारी महत र देवबहादुर विकले पनि बोलेका थिए । तालिममा पोखरा १७ का विभिन्न टोल विकास संस्था र महिला समूहका गरी ८० जना सहभागी थिए ।