पोखरामा पुनः सडक भासिएको छ । पोखरा महानगरपालिका वडा नं. ४, विपिचोक चिप्लेढुंगास्थित विपिको शालिक पडाडिपट्टी मुल सडक नै भासिएको हो ।
शनिबार बिहान सडक माथि करिब आधा मिटर प्वाल देखिएपछि भासिएको हुन सक्ने अनुमान गर्दै जेसिबी नै ल्याएर प्वाल वरपर खाल्डो पारिएको छ ।
अहिले त्यसको अवस्था हेरेर पुर्ने तयारी भइरहेको छ । अहिले उक्त सडकमा प्वाल परेको छेउबाट सवारी संचालन गरिएको छ ।
डोजर ल्याएर भासिएको खाडल खन्दा पहिलो हिलो माटो र पानी नै निस्किएको पोखरा ४ का वडाअध्यक्ष शंकर बास्तोलाले जानकारी दिए । खानेपानीको पाइपबाट पानी लिग भएको र पानीकै कारण भासिकएको उनले बताए ।
शुक्रबार पोखरामा भारी वर्षा भएको थियो । दुई वर्ष अघि पनि चिप्लेढुंगा नजिकैको गैरापाटनमा पनि जमिन भासिएको थियो ।
गत वर्ष जिरो किलोमिटरमा गाडी नै खाल्डोबाट आधा पसेको थियो । साथै गतवर्ष न्यूरोडस्थितख महानगरको कार्यालय वरपर ठूलो भ्वान परेको थियो ।
केही वर्ष अघि कास्कीकै अर्मलामा श्रृंखलावद्ध जमिन भासिए पनि हाल रोकिएको छ । विज्ञहरुले पोखराको भौगोलिक अवस्था निकै जोखिमपूर्ण रहेको बताउँदै आएका छन् ।
विज्ञले पटक पटक यस्तो सुझाव दिए पनि महानगरले भने विज्ञको सुझाव कार्यान्वयन गरेको छैन । महानगरले पोखराकै भौगोलिक अवस्था अनुरुप भवन निर्माण मापदण्ड लागु गरे पनि कार्यान्वयनमा उदासिन छ । जसले पोखरामा मापदण्ड विपरित गगनचुम्वी भवन बन्नेक्रम तीव्र छ । पोखरामा ११ तलासम्मका बनेका छन् ।






