गण्डकी प्रदेशका मुख्यमन्त्री पुरानो छोडेर नयाँ क्वाटरमा शुक्रबार सरेका छन् । प्रदेश सरकार गठन भएपछि मन्त्री गुरुङ राष्ट्र बैंक गेस्टहाउसमा केही समयको बसाईपछि गत फागुनदेखि उनी पार्दीस्थित पोखरा महानगरको तालको किनारमै रहेको गेस्टहाउसमा १५ महिनाको बसाइपछि शुक्रबार उनी सहिदचोकस्थित नयाँ क्वार्टरमा सरेका हुन् ।
मन्त्रीको अहिलेको नयाँ क्वार्टर पनि जिल्ला प्रशासन कार्यालय कास्कीले प्रमुख जिल्ला अधिकारीको आवास प्रयोजनका निम्ति झन्डै सवा दुई करोडको लागतमा निर्माण गरेको थियो । प्रमुख जिल्ला अधिकारी भने मुख्यमन्त्री कार्यालय भन्दा केही तल जिल्ला कारागार कार्यालय कास्कीको अगाडि रहेको सरकारी क्वार्टरमा बस्दै आएका छन् ।
प्रजिअको आवास प्रयोजनार्थ यो भवन निर्माणको सम्झौता भने २०७३ साल माघ २७ गते नै भएको थियो । २०७४ पुस २५ गतेसम्म सम्पन्न गर्नेगरी निर्माण जिम्मा लिएको सिएम गौचन पर्फेक्ट जेभीले तोकिएको समयभन्दा १ वर्ष ५ महिना ढिलोगरी निर्माणकार्य सम्पन्न गरेको हो ।
तीनतले भवनलाई कम्पनीले भ्याटबाहेक २ करोड १५ लाख ४० हजार सात सय ४१ रुपैयाँमा सम्झौता गरेको र हालसम्म २ करोड नौ लाख ४२ हजार चार सय ८४ रुपैयाँ भुक्तानी लगिसकेको जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए ।
भवनको बाहिरि परिसरमा सुरक्षागार्डको कक्षसहित बैठक कक्ष, चारवटा बेडरुमहरु छन्, भने भवन बाहिर फूलहरु समेत रोपिएको छ । यसबाहेक प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री साविकको जिल्ला कृषि कार्यालयकै क्वार्टरमा बस्दै आएका छन् ।
क्षेत्रीय सिँचाइ कार्यालयको आवासमा आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार र उद्योग पर्यटन, वन तथा वातावरणमन्त्रीको आवास छ । सामाजिक विकासमन्त्री भने स्वास्थ्य तालिम केन्द्रको क्वार्टरमा बस्दै आएकी छन् ।
प्रदेश प्रमुख बाबुराम कुँवर पनि साविकमा क्षेत्रीय प्रशासक बस्ने भवनलाई प्रयोग गर्दै आएका छन् । प्रदेश सरकारले हालसम्म कुनै पनि संरचनाहरु बनाएको छैन । प्रदेश मन्त्रालयदेखि प्रदेशसभा सचिवालय रहेका सबै यसअघि नै निर्मित जिल्लास्थित विभिन्न निकायका कार्यालयहरुहरु हुन् । तीनै कार्यालयहरुमा हाल प्रदेश सरकार सञ्चालन हुँदै आइरहेको छ ।




