पाल्पाको निस्दी गाउँपालिकामा जङ्गली च्याउको तरकारी पकाएर खाँदा बिरामी परेकामध्ये मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ।
विभिन्न अस्पतालमा उपचार गराइरहेका मध्ये शुक्रबारसम्म मृतकको संख्या ६ पुगेको सङ्घीय सांसद दलबहादुर रानामगरले जानकारी दिएका हुन् ।
अहिलेसम्म निस्दी-३, सार्कीडाँडाकी ९ वर्षीया निर्मलासिंह ठुकरी, ४ वर्षीया विष्णुसिंह ठकुुरी, ७ वर्षीया सुमनसिंह ठकुरी, निशा सिंह ठकुरी, निरुता सिंह ठकुरी र ४५ वर्षीय पुरन खाम्चाको निधन भएको सांसद रानाले बताए।
गत शुक्रबार च्याउ खाएर शनिबारदेखि ११ जना बिरामी परेका थिए। बान्ता हुने, बेहोस हुने, अत्तालिने गरेपछि उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो। ति मध्ये आइतबार नै २ जनाको उपचारका क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा मृत्यु भएको थियो।
मृतकमध्ये निर्मलाको मध्यविन्दु अस्पताल नवलपरासी, विष्णुको कलेज मेडिकल साइन्सेस भरतपुर तथा अन्यको काठमाडौंका विभिन्न अस्पतालमा निधन भएको हो। नजिकैको जङ्गलबाट खोजेर ल्याइएको च्याउ पकाएर तरकारी खाएका सार्कीडाँडाका ११ जना बिरामी परेका थिए। बाँकी बिरामीलाई नवलपरासीको मध्यविन्दु अस्पताल, भरतपुरका मनकामना अस्पताल र कलेज अफ मेडिकल साइन्सेस, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंलगायतमा उपचार भइरहेको छ।
पाल्पा सदरमुकाम तानसेनदेखि करीब ७० किमी पूर्व सार्कीडाडाँका ४ परिवारका सदस्य बिरामी परेका हुन्। आर्थिक अवस्था कमजोर भएकोले बिरामी परिवारलाई उपचार गर्न समस्या भएको जनाईएको छ ।




