नेपाल राष्ट्र बैंकले मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरुलाई सचेत गराएको छ। शुक्रबार काठमाडौंमा आयोजित ‘लघुवित्त संस्थाको मर्जर र आवश्यक्ता’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सचेत गराएका हुन्।
उनले ग्रामीण क्षेत्रको गरिबी निवारणका लागि आर्थिक गतिविधि बढाउन टेवा पु¥याउने उद्देश्यका साथ सुरु गरिएको लघुवित्त संस्थाको दिगोपनाका लागि पनि मर्जर अति आवश्यक भएकाले सुरु गरिएको पनि स्पष्ट पारे।
गभर्नर नेपालले असार महिनाभित्र सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरुको स्थापना गरिसक्ने घोषणा पनि गरे। ७ सय ५३ वटा स्थानीय तहमध्ये ७ सय २८ वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरु पुगिसकेको र बाँकी स्थानीय तहमा पनि यही असारभित्र बैंक तथा वित्तीय संस्थाहरुको व्यवस्था गर्ने गभर्नर नेपालको योजना छ।
नेपालमा चालू आवको चैत मसान्तमा २८ वाणिज्य बैंक, ३२ विकास बैंक, २४ वित्त कम्पनी, ९१ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्। पछिल्लो समय राष्ट्र बैंकले मर्जर र बिग मर्जरलाई प्राथमिकतामा राख्दै आएको छ भने सरकारले बजेटमै बिग मर्जरलाई जोड दिएको छ।




