नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका प्रकाशक सम्पादक नन्दबहादुर गेलाङ मगरको शव तीन दिनदेखि अस्पतालमै छ ।
ठक्कर दिने गाडी साहु वार्तामा नआएको र प्रतिनिधिका रूपमा खटाइएका मध्यपश्चिम ट्रक तथा ट्र्याक्टर व्यवसायी सङ्घका अध्यक्ष प्रकाश अधिकारीले मृतक पत्रकार गेलाङका आफन्तले माग राखेको क्षतिपूर्ति रकमको जोखिम लिन नमानेपछि शव अस्पतालमै रहेको हो ।
बुधबार रुकुमबाट छिन्चुतर्फ आइरहेको बा५ख १६८३ नंको टिपरले भे८प ७६०४ नंको मोटरसाइकलमा सवार पत्रकार गेलाङलाई बिहान ११ः४५ बजे ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
आफन्तले शव बुझ्न नमानेपछि शव परीक्षण हुन नसकेको प्रहरीको भनाई छ । प्रहरीले टिपर चालक कालु भनिने (सन्तबहादुर राई)लाई बुधबार बेलुका कोहलपुर बाँकेबाट नियन्त्रणमा लिइसकेको बताएको छ ।






