ओमानको खाडीमा तेल बोकेका दुई वटा ट्यांकरमा आक्रमण भएको छ । बिहीबार गन्तव्यतर्फ जाँदै गरेको अवस्थाममा दुई ट्यांकरमा विस्फोटक हमला भएको हो ।
आक्रमणको विषयलाई लिएर अमेरिका र इरानबीच आरोप प्रत्यारोपसमेत सुरु भएको छ । अमेरिकाले आक्रमणमा इरान जिम्मेवार भएको आरोप लगाएको छ । इरानले भने उक्त आरोप निराधार रहेको दावी गर्दै आएको छ ।
जापानको स्वामित्वको रहेको कोकुका करेजिएस र नर्वेजिन कम्पनीको फ्रन्ट अल्टाएयरमा बिस्फोट भएको हो । घटना लगत्तै ट्यांकरमा रहेको सदस्यहरुको उद्धार गरिएको थियो । इरान र अमेरिकाले दुवैले ट्यांकरका सदस्यहरुको उद्धार आफूहरुले गरेको दाबी गरेका छन् । कोकुकामा रहेका २१ र फ्रन्टमा रहेका २३ सदस्यको उद्धार गरिएको थियो ।
विश्वको सबैभन्दा ठूलो तेल मार्गमा एक महिनाभित्रै यो दोस्रो आक्रमण हो । बिहीबारको घटनापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढीले बढेको छ ।






