पोखरा १७ मा प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम

पोखरा महानगरपालिका वडा नं. १७ को आयोजनामा बिहीबारबाट प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सुरु भएको छ । शनिबारसम्म चल्ने तालिममा पोखरा १७ का विभिन्न टोल विकास संस्था र महिला समूहका प्रतिनिधि सहभागी छन् ।

सेरा जागृति आमा समूहले व्यवस्थापन गरेको तालिम बिहीबार पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले उद्घाटन गरे । उनले प्रस्तावना र प्रतिवेदन लेखन सशक्तीकरण र विकास, निर्माणका कार्यमा भर्खरै उपयोग हुने बताए ।

पोखरा १७ का वडा सदस्य तथा महानगर कार्यपालिका सदस्य राधिका शाही योगीले महानगरसँग योजना, बजेट, कार्यक्रम माग गर्ने, प्रतिवेदन बुझाउने तरिका तालिमले सिकाउने बताइन् । उनले अन्य संघ, संस्था, विकास र सामाजिक काममा समेत प्रस्तावना र प्रतिवदेनको उपयोग हुने भएकाले वडावासीलाई तालिम दिइएको बताइन् ।

पोखरा १७ का वडा सचिव सुवास पौडेलले नागरिकको सशक्तीकरणका लागि हुने यस प्रकारका तालिमको विशेष महत्व रहेको बताए । कार्यक्रममा सेरा जागृतिका अध्यक्ष विष्णुमाया पौडेल, सचिव गंगाकुमारी शर्मा र सदस्य कल्पनाकुमारी लामिछानेले पनि बोलेका थिए ।