अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय बाँकेका तत्कालिन प्रमुख मालपोत अधिकृतसहित २८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सरकारी जग्गा व्यक्तिको नाममा गरी भ्रष्टाचार गरेको भन्दै बिहीबार दायर गरिएको मुद्दामा २८ जनासँग कूल ६४ करोड ५३ लाख ११ हजार ८ सय ५० रुपैयाँ बिगो दाबी गरिएको छ।
कौशल भन्ने खैरुल हसन अन्सारीले बाँके र बर्दिया जिल्लाका विभिन्न कित्ताको सरकारी जग्गा आफूलाई गैरकानूनी लाभ र सरकारलाई गैरकानूनी हानी पुर्याउने बदनियतले मालपोत कार्यालय बाँके र बर्दियाका कर्मचारीलाई अनुचित प्रभावमा पारी आफ्नो नाममा गरेको पुष्टी भएको अख्तियारद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ।
अख्तियारले बिहीबार मुद्दा दायर गरेकामा बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत दीर्घराज पोखरेल भन्ने दीर्घबहादुर पोखरेल, मालपोत अधिकृतहरु पुष्पा श्रेष्ठ, हेमराज शर्मा र अशोककुमार भट्टराई, नायव सुब्बाहरु रुद्रबहादुर देवकोटा, टंकप्रसाद शर्मा, रामबहादुर खड्का र मानबहादुर केसी, कम्प्युटर अपरेटर यज्ञेश्वर वली, सहायक कम्प्यूटर अपरेटर (करार) प्रेमबहादुर चन्द ठकुरी छन्।
यस्तै, खरिदारहरु सुशिल रिजाल, संजयकुमार ठाकुर, कुलानन्द राउत र कार्यालय सहयोगी अन्तराम चौधरी, मालपोत कार्यालय बर्दियाका तत्कालीन कार्यालय प्रमुख कृष्णप्रसाद ज्ञवाली, मालपोत अधिकृत रामकुमार रोका, नायव सुब्बाहरु कृष्णलाल शर्मा, रविन्द्रबहादुर थापा, खरिदारहरु भुमिराज पोखरेल, किशोरकुमार रिजाल, तुलसी रानी थारु, कम्प्यूटर अपरेटर (करार) लक्ष्मी मल्ल र कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्याय तथा कौशल भन्ने खैरूल हसन अन्सारी, हसरतुन निसा अन्सारी, लाली मल्ल, बिरू भन्ने बृहस्पति खड्का र पप्पु धोव विरुद्ध पनि मुद्दा दायर गरिएको छ।






