आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएसँगै दालको मूल्यमा प्रतिकिलो २० रुपैयाँसम्म वृद्धि भएको छ।
सरकारले केही खाद्यवस्तुमा आगामी आर्थिक वर्ष २०७६/७७ बाट लागु हुने गरी मूल्य अभिवृद्धि कर बढाएपछि व्यापारीले अहिलेदेखि नै मूल्य बढाएका हुन। खाद्यवस्तुमा मूल्यवृद्धि हुनुको अर्को कारणका रुपमा कर्मचारीको तलबवृद्धि तथा सामाजिक सुरक्षाभत्तामा भएको वृद्धिलाई पनि मुख्य कारणका रुपमा हेरिएको छ।

जेठ ५ गते प्रतिकिलो १ सय रुपैयाँ रहेको मुसुरो दाल जेठ २० गते १ सय ५ रुपैयाँ पुगेको छ भने जेठ २८ गतेसम्ममा १ सय १५ रुपैयाँ पुगेको छ। त्यसैगरी रहर, मुंगी, राजमा, भटमासलगायत दहलनजन्य खाद्य वस्तुमा अस्वभाविक मुल्य वृद्धि भएको देखिन्छ।

आँटामा बढ्यो प्रतिकिलो ५ रुपैयाँ
सरकारले बजेटमार्फत् आँटा तथा मैदामा मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेलगत्तै आँटाको मूल्यमा प्रतिकिलो ५ रुपैयाँ बढेको छ।
सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ अर्थात आगामी साउन १ गतेदेखि लागु हुने गरी उक्त व्यवस्था ल्याएको भएपनि व्यवसायीले भने अहिल्यैदेखि मूल्य वृद्धि गरेका छन्।




