थ्रीडी मोडल सञ्चालनमा ल्याउने नेपालमै पहिलो बन्यो वालिङ नगरपालिका

स्याङजाको वालिङ नगरपालिकाले थ्रीडी मोडल (तीन आयमिक नक्सा) सञ्चालनमा ल्याएको छ । सबै वडाको वस्तुस्थितिबारे जानकारी लिने उद्देश्यसहित योजना बनाउन तथा पूर्वाधार निर्माणमा प्रत्यक्ष सहयोग पुग्ने गरि उक्त मोडेल नगरपालिकाले सञ्चालनमा ल्याएको हो ।

नगरभित्रका १४ वटै वडाको हरेक गतिविधिबारे जानकारी लिन सकिने नगरप्रमुख दिलीपप्रताप खाँडले बताए । यसले हरेक बजेट र कार्यक्रम सन्तुलित र न्यायपूर्ण तरिकाले सबैको पहुँचमा पुर्‍याउन सकिने खाँडको विश्वास छ ।

नगरको बृहत् योजनाभित्र रहेर भू–उपयोग योजना, पूर्वाधारको योजना निर्माण गर्न यो मोडेललाई आधार मान्ने गरिएको र सैनिकहरूले प्रयोग गर्ने भए पनि स्थानीय सरकारको तर्फबाट पहिलो प्रयोग भएको खाँणले दाबी गरे । सबै ठाउँको विकास निर्माण तथा समस्या पहिचान गरी समाधानमा यसले भूमिका खेल्नेछ ।

मोडेलको निर्माण भारतीय सेनाबाट निवृत्त वालिङ–१० का लोकबहादुर मल्लले गरेका हुन् । ३० वर्ष भारतीय सेनामा बिताएका मल्लले १५ वर्ष थ्रीडी मोडेलमा काम गरेका थिए । यसमा पक्की, कच्चीसडक, खोलानाला, बाँझो र खेतीयोग्य जमिन, वनजंगल, कार्यालय, बजार तथा घरहरू, दूरी, प्रत्येक ठाउँको उचाई, सांकेतिक बोर्डमा स्पष्टसँग बुझ्न सकिन्छ ।