सर्लाहीको हरिपुर नगरपालिकामा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।
गए राति करीब १०ः३० बजे हरिपुर नगरपालिका–७ चिताइस्थित भित्री सडकखण्डमा ना२५प ६९२२ नंको मोटरसाइकल र ज२प ७८८६ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र ईश्वरपुर नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृतक दुवै मोटरसाइकल चालक हुन् भने दुर्घटनामा अन्य ४ जना घाईते भएका छन् । दुवै मोटरसाइकलमा चालकसहित तीन–तीन जना बसेका थिए । मोटरसाइकलको पछाडि बस्ने चारै जना घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिए ।
ना२५प ६९२२ नंको मोटसाइकल पछाडि बस्ने अच्छेलाल चौधरी र रामबाबु चौधरी समान्य उपचार पछि घर फर्किएका छन् भने ज२प ७८८६ नंको मोटरसाइकल पछाडि बस्ने ईश्वरपुर नगरपालिका–१४ का १७ वर्षीय धीरेन्द्र चौधरी र लालबन्दी नगरपालिका–२१ का सन्तोष चौधरी गम्भीर घाइते भएका छन् । गम्भीर घाइते दुवैलाई उपचारका लागि वीरगञ्ज अस्पताल रिफर गरिएको छ भने मृतकको शव परीक्षणका लागि सर्लाही अस्पताल मलङ्गवामा राखिएको छ ।






