सर्लाहीको बागमती नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएसंगै ११७ जनालाई रोजगार प्रदान गरिएको छ ।
कार्यक्रम एक आर्थिक वर्षमा १०० दिन रोजगारी दिनुपर्ने भए पनि यस आर्थिक वर्षको समय अन्तिम भइसकेकोले नगरपालिकाको १२ वटै वडाबाट कामदार छनोट गरी ३० दिने रोजगार प्रदान गरिएको हो ।
नगरपालिकामा ९९५ जनाले बेरोजगार फारम भरेको भए पनि, यस चालू आर्थिक वर्षमा फारम भरेका मध्यबाट अति विपन्न परिवारका सदस्यलाई छनोट गरिएको नगरपालिकाका रोजगार संयोजक निलम कुशवाहाले जानकारी दिइन् ।
छनोट भएकाहरूलाई नगरपालिकाभित्र रहेका सडकको दुवै छेउमा वृक्षरोपण, विद्यालय, वडा कार्यालयको छेउछाउमा सरसफाइको कामका लागि खटाइनेछ । त्यसबापत उनीहरूले दैनिक ५१७ रुपैयाँ तलब भत्ता पाउनेछन् ।
रोजगार कार्यक्रमका लागि नगरपालिकाकामा २६ लाख रुपैयाँ बजेट आएको नगरपालिकाका प्रमुख९मेयर० भरतकुमार थापाले जानकारी दिए । रोजगार प्राप्त गर्नका लागि १८ वर्ष पूरा भई ५९ वर्ष हुनुपर्ने नगरपालिकाले जनाएको छ ।




