कारको ठक्करबाट नेपाली सेनाका लेस नायकको मृत्यु

मकवानपुर भिमफेदी गाउँपालिकाको भैसेसामरी पुल नजिकै बुधबार राति कारले मोटरसाइकलाई ठक्कर दिँदा नेपाली सेनाका लेस नायकको ज्यान गएको छ ।

काठमाण्डौबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसेतर्फ गइरहेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुपारेटार ब्यारेकका लेस नायक पदमा कार्यरत ३० वर्षीय विवेश तामाङको ज्यान गएको हो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि काठमाण्डौ लगिएको थियो । उनको उपचारका क्रममा काठमाण्डौको छाउनीमा रहेको सैनिक अस्पतालमा ज्यान गएको थियो ।

ठक्कर दिने कार तथा कार चालक भक्तपुर सुर्यविनायक बस्ने ३४ बर्षीया सुजिता श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन् ।