नेविसंघ नेतृत्वविहीन कहिलेसम्म ?

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्थाका रूपमा रहेको नेपाल विद्यार्थी संघ (नेविसंघ) को चार महिनादेखि तदर्थ समिति बन्न सकेको छैन । ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले २०७५ माघ २८ मा राजीनामा दिएसँगै ४ महिनादेखि नेतृत्वविहीन रहेको नेविसंघको अहिलेसम्म तदर्थ समिति बन्न सकेको छैन ।

नेविसंघको विस २०७३ साउनमा सम्पन्न ११ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष महरले १२ औँ महाधिवेशन गर्न नसेकेपछि माघमा राजीनामा दिएका थिए । मुलुकमा भएका विभिन्न राजनीतिक र शैक्षिक आन्दोलनमा अग्र मोर्चामा उभिएर काम गरेको नेविसंघको नेतृत्व नहुँदा पार्टीलाई समेत ठूलो समस्या उत्पन्न भएको छ ।

विसं २०२७ वैशाख ७ गते पार्टी प्रतिब्न्धित अवस्थामा रहेको बेला स्थापना भएको नेविसंघमा अहिलेको अवस्थासम्म आइपुग्दा १८ जनाले नेतृत्व सम्हाल्ने मौका प्राप्त गरे । नेविसंघको पहिलो अध्यक्ष विपिन कोइराला हुन् । स्थापनाकालदेखि हालसम्म आइपुग्दा ६ अध्यक्ष निर्वाचित, ७ अध्यक्ष तदर्थ र ५ अध्यक्षले सर्वसम्मत नेतृत्व गरेका छन् ।

नेविसंघका पूर्व केन्द्रीय सदस्य लीलावल्लभ दाहाल ‘काका’ पार्टी नेतृत्वले नै पार्टीको महाधिवेशनसम्म नेविसंघको महाधिवेशन गर्न नचाहेको बताउछन् । ‘पार्टीले विद्यार्थी हक र हितमा खट्ने इमान्दार विद्यार्थीलाई समावेश गरेर तत्काल तदर्थ समिति गठन गर्नुपर्छ’, उनी भन्छन् । पार्टीका नेताको गैरजिम्मेवारीपनका कारण तदर्थ समिति गठन हुन नसकेको उनको भनाइ छ ।

नेविसंघका निवर्तमान उपाध्यक्ष उर्मिला थपलिया पार्टीले तत्काल महिलाको नेतृत्वमा तदर्थ समिति बनाएर महाधिवेशनमा जानुपर्ने बताउछिन् । ‘नेविसंघमा अहिलेसम्म धेरै पुरुष नेतृत्वमा पुगेका छन्, अहिले महिलालाई तदर्थ समितिको अध्यक्ष बनाएर महाधिवेशनमा जाँदा पार्टीलाई अरु राजनीतिक दल र कांग्रेसले हेर्ने नजरमा पनि फरक पर्छ’, उनी भन्छिन् ।

नेविसंघका निवर्तमान सहमहामन्त्री प्रेमराज जोशी पार्टीले ३२ वर्ष कम उमेरका विद्यार्थीलाई अध्यक्ष बनाएर तत्काल तदर्थ समिति गठन गर्नुपर्ने बताउछन् । ‘विधानमा उल्लेख भएअनुसार तत्काल १ सय १ सदस्यीय समिति बनाएर केन्द्रीय महाधिवेशनमा नेविसंघ जानुपर्छ’, उनी भन्छन् ।

नेविसंघका पूर्व अध्यक्ष रञ्जित कर्ण पार्टीले तत्काल तदर्थ समिति बनाएर ६ महिनाभित्र महाधिवेशन गरिसक्नुपर्ने बताउछन् । ‘वडा तह, स्थानीय तह, जिल्ला तह, प्रदेश तह र केन्द्रको निर्वाचनको कार्यतालिका र कार्ययोजना बनाएर नेविसंघको महाधिवेशन तत्काल गर्नुपर्छ’, उनी भन्छन् ।

नेविसंघका पूर्व अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेल लोकतन्त्र र शिक्षाका लागि लडेको विद्यार्थी यो अवस्थामा आइपुग्नु दुःखद भएको बताउछन् । ‘नेविसंघलाई अनावश्यक हस्तक्षेप गरेर पार्टी संगठन बलियो हुन सक्दैन, त्यही समितिलाई अहिलेसम्म काम गर्न दिएको भए धेरै जिल्लाको अधिवेशन गर्न सक्थ्यो’, उनी भन्छन् । तत्काल नेविसंघको महाधिवेशन गर्नका लागि विभिन्न क्षेत्रका व्यक्तिको सहभागितामा निर्वाचन समिति बनाएर अगाडि जानुपर्ने उनको भनाइ थियो ।

नेविसंंघका पूर्व केन्द्रीय सदस्य भानु ढकालले व्यक्तिगत स्वार्थ त्यागेर संगठन र पार्टीको हितमा सोच्ने हो भने समस्या समाधान टाढा नरहेको स्पष्ट पारे । उनले पार्टीगत र व्यक्तिगत स्वार्थका कारण समस्या हल हुन नसकेको भन्दै त्यसलाई त्यागेर संगठनलाई सक्रिय बनाउन आवश्यक रहेको बताए ।

नेविसंघको ४८ वर्षको इतिहासमा विसं २०५९ सालमा तत्कालिन नेविसंघका अध्यक्ष विश्वप्रकाश शर्माले समयमा महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए भने अरु अध्यक्षहरूले समयमा अधिवेशन गर्न सकेनन ।

विपिन कोइराला, शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, महेन्द्र शर्मा र रञ्जित कर्णले सर्वसम्मत तथा महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गरेका थिए । यस्तै, विमलेन्द्र निधि, एनपी साउद, गुरु घिमिरे, प्रदीप पौडेल र नैनसिंह महर भने निर्वाचनबाट जितेर अध्यक्ष बनेपनि महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न सकेनन् ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा नेविसंघभित्र तदर्थ समिति बनाउने कुरामा पार्टीभित्र विभिन्न चरणमा छलफल भइरहेको भन्दैै चाँडो नै टुङ्गो लाग्ने बताउछन् । ‘विधान र प्रक्रियाअनुसार नै नेविसंघको तदर्थ समिति बन्छ’, उनी भन्छन् ।

नेविसंघको समिति नहुँदा पार्टीले भर्खरै सम्पन्न गरेको पहिलो चरणको हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानमा समेत समस्या परेको छ ।