कस्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, भुर्जुङखोलास्थित माछापुच्छ्रे माविमा लागुपदार्थ दुर्व्यसनी विरुद्ध प्रशिक्षण आयोजना गरियो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले प्रशिक्षण आयोजना गरेको हो । विद्यालयमा अध्ययनरत १ सय ८५ जना विद्यार्थीलाई प्रशिक्षण दिइएको थियो ।
वडा प्रहरी कार्यालय बगरका कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपक थापाले लागुपदार्थको असर, हुन सक्ने कानुनी कारबाही र दुर्व्यसनबाट बाच्न अपनाउनु पर्ने उपायका बारेमा विद्यार्थीलाई प्रशिक्षण दिएका थिए । \

उनले लागुपद्धार्थको प्रयोगले मानवीय क्षतिका साथै समाजमा समेत विकृति विसंगति ल्याउने, समाज अशान्त बनाउने भएकाले यसको प्रयोगमा पूर्ण निरुत्साहित गर्नुपर्ने खाँचो औंल्याए ।
प्रशिक्षक थापाले अभिभावकले आफ्ना बाबुनानीको रेखदेख र गतिविधिमा निरानी राख्नुपर्ने र लागुऔषध दुर्व्यसनीमा लागेको शंका लागेमा प्रहरीलाई खबर गर्न आग्रह गरे ।
उक्त अवसरमा माछापुच्छ्रे गाउँपालिका वडा नं. २ का वडाध्यक्ष विक्रम गुरुङले गाउँपालिकाका सबै वडालाई लागुपदार्थ दुर्व्यसनमुक्त बनाउने आफ्नो योजना रहेको सुनाए । उनले लागुऔषध दुर्व्यसनी विरुद्ध आयोजित यस्ता सचेतनामूलक प्रशिक्षणले विद्यार्थीका साथै अभिभावक र सिंगो समाजमा महत्वपूर्ण सन्देश प्रवाह हुने दावी गरे ।
साथै वडाध्यक्ष गुरुङले लागुऔषध दुर्व्यसनी न्यूनीकरणका लागि यस्ता अभियान समुदायमा समेत सञ्चालन गर्न आवश्यक रहेको बताए ।
विद्यालयका प्रध्यानाध्यापक सन्तोष आचार्यले विद्यालयमा लागुपदार्थ दुर्व्यसनी विरुद्ध प्रशिक्षण आयोजना गरे विद्यार्थीलाई जागरुक गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजक संस्थाको प्रशंसा गरे ।
सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका महासचिव उत्तम जोशीको अध्यक्षतामा भएको कार्यक्रम कार्यसमिति सदस्य नरेन्द्र आचार्यको संयोजकत्वमा भएको थियो भने कार्यक्रम सञ्चालन प्रहरी हवल्दार बबिता मल्लले गरेकी थिइन् ।




